काठमाडौं । गत भदौ २३ र २४ गते जेन–जी प्रदर्शनका बेला व्यापक बल प्रयोग गरी ७६ जनाको ज्यान लिएको आरोप लागेका तत्कालीन जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी विश्व अधिकारीलाई डीआईजीमा बढुवाको लागि सिफारिस गरिएको छ ।
जेन–जी प्रदर्शनमा भएको उक्त दमनको छानबिन गर्न सरकारले न्यायिक छानबिन गरिरहेको बेला त्यही जेन–जी प्रदर्शनको बलमा गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले छानबिनको दायराभित्र परेका दमनकारी प्रहरी अधिकारीलाई बढुवाको सिफारिस गरेको हो ।
भदौ २३ गतेको जेन–जी प्रदर्शनमा उनले प्रदर्शनकारी कलिला विद्यार्थीहरूमाथि गोली हान्ने आदेश दिएको आरोप लागेको छ भने जेन–जी युवाहरूले अहिले पनि आफ्नै बलमा बनेको सरकारसँग उक्त प्रदर्शनलाई दमन गर्नेहरूमाथि कारबाहीको माग गरिरहेको बेला सरकारले चाहिँ आरोपी अधिकारीलाई बढुवा गर्न सिफारिस गरेको हो ।