काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी आयकर तिर्नेमा संस्थागततर्फ नेपाल दूरसञ्चार प्राधिकरण र व्यक्तिगततर्फ राजबहादुर शाह रहेका छन् ।
राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा सोमबार अर्थमन्त्री रामेश्वर खनालले प्राधिकरण र शाहलाई सम्मान गरेका हुन् । त्यस्तै, एकलौटी फर्महरूमध्ये सबैभन्दा बढी आयकर थर्ड आई इन्टरनेसनलले दाखिला गरेको छ ।
त्यसैगरी वस्तु निर्यातको कारोबार गर्नेमा डाबर नेपाल प्रालि, सूचना प्रविधिसम्बन्धी सेवामा ओरिक्स नेपाल प्रालि र कृषि एवं पशुपन्छीजन्य उद्योगमध्ये पोषक ब्रिडर फार्म प्रालिले धेरै आयकर तिरेको विभागले जनाएको छ ।
त्यस्तै, बैंकिङ र बीमा संस्थातर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले धेरै कर दाखिला गर्दा स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड, वस्तु व्यापार गर्ने संस्थातर्फ भाटभटेनी सुपर मार्केट, ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि, रेमिट्यान्स तथा मनी कारोबार गर्ने संस्थाहरूमा आईएमई लिमिटेडले तिरेका छन् । सबै उत्कृष्ट करदाता कम्पनीलाई विभागले सम्मान गरेको छ ।
व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिरेका राजबहादुर शाहलाई पनि सम्मानित गरिएको छ । वार्षिक कारोबारका आधारमा ५० करोड रुपैयाँदेखि एक अर्ब रुपैयाँसम्मको कारोबार गर्नेमा सीडीएस एन्ड क्लियरिङ लिमिटेड र ५० करोड रुपैयाँसम्मको कारोबार गर्ने संस्थाका रूपमा भीएफ सर्भिसेज प्रालि सम्मानित भएका छन् ।
त्यस्तै, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड विसं २०७६ देखि २०८२ सालसम्म नियमितरूपमा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने कम्पनी बनेको छ भने विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनिलिभर नेपाललाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ । गत वर्ष सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने आन्तरिक राजस्व कार्यालय बाग्लुङलाई सम्मानित गरिएको छ ।