काठमाडौं । गुणस्तरमा नेपाली कफीको छुट्टै पहिचान भएपनि उत्पादन भने फस्टाउन सकेको छैन । स्पेसियालिटी कफीको रूपमा परिचित हुँदै गइरहेको नेपाली कफीको माग देश–विदेश दुवै ठाउँमा उल्लेखनीय रूपमा बढिरहेको छ । तर नेपाली कफीले मात्रै माग धान्न नसकेर करोडौँको कफी आयात हुने गरेको छ ।
पछिल्ला वर्षहरुमा उत्पादनमा केही वृद्धि भने देखिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । सोमबार २१औँ राष्ट्रिय कफी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोर्डका कृषि विकास अधिकृत गौरव लुइटेलले उत्पादनमा वृद्धि हुन नसकेपनि नेपाली कफीले गुणस्तरका आधारमा अन्तर्राष्ट्रिय बजारमा मजबुत पहिचान बनाएको बताए । उनले नेपालमा सस्तो कफी आयात हुने र नेपालबाट महंगो कफी निर्यात हुने जानकारी दिए । बोर्डका अनुसार आ.व. २०८१/८२ मा मात्र छ सय ४२ मेट्रिक टन ग्रीन बीन कफी उत्पादन भएको थियो । उक्त बर्ष दुई सय ३० मेट्रिक टन कफी आयात भएको छ । सोही वर्षमा ६४ मेट्रिक टन निर्यात गरिएको छ । बोर्ड तथा भन्सार विभागका तथ्याड्ढ अनुसार आ.व. २०७०/७१ मा एक हजार नौ सय ११ हेक्टरबाट चार सय २९ मेट्रिक टन कफी उत्पादन भएको थियो ।
बोर्डका कार्यकारी निर्देशक फाइन्द्र राज पाण्डेले कफी क्षेत्रलाई व्यवसायिक बनाउने लक्ष्यअनुसार कफी स्टेट फार्मको अवधारणालाई प्राथमिकताका साथ अघि बढाइएको बताए । कफी किसानलाई संरक्षण र प्रोत्साहन गर्दै युवालाई आकर्षित गर्न युवा–लक्षित स्टार्टअप कार्यक्रम आगामी वर्षदेखि सञ्चालन गर्ने योजना बोर्डले बनाएको छ । बोर्डले चक्लाबन्दी प्रणालीमा कफी क्षेत्र विस्तार, लोकमार्ग केन्द्रित प्रदर्शन प्लट, व्यवसायिक नर्सरी उत्पादन तथा अनुसन्धानात्मक प्रविधि विकासजस्ता कार्यक्रमहरूलाई पनि सशक्त रूपमा अघि बढाइरहेको जनाएको छ । केन्द्र, प्रदेश र स्थानीय सरकारबीच एकीकृत कफी कार्यक्रम सञ्चालन गर्ने तयारी अन्तिम चरणमा रहेको बोर्डद्वारा जारी विज्ञेप्तीमा उल्लेख छ । ७५औँ बोर्ड बैठकका निर्णय अनुसार कफी मूल्य शृंखलाका सबै पक्षको भूमिका स्पष्ट हुने गरी सम्बन्धित ऐन र नीतिहरू संशोधन प्रक्रिया अघि बढाइएको छ ।
बोर्डले सोमबारदेखी लागू हुनेगरि कच्चा कफीको न्यूनतम सहमत मूल्य पनि तोकेको छ । यसवर्ष पनि गतवर्षकै मूल्यलाई यथावत राखिएको कृषि विकास अधिकृत लुइटेलले जानकारी दिए । उनका अनुसार फ्रेस चेरीको मूल्य ग्रेड ए को एक सय पाँच प्रतिकेजी र ग्रेड बी को ९५ रुपैयाँ प्रतिकेजी रहेको छ ।