काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव सम्पन्न गरेको छ । वि.सं. १९९४ साल कात्र्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेड मिति २०८२ साल कात्र्तिक ३० गते आफ्नो ८८औं वर्ष पूरा गरी ८९औं वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहको अध्यक्षता बैंकका सञ्चालक समितिका अध्यक्ष प्रा. डा. डिल्लीराज शर्माले गरेका हुन् ।
नेपालभर दुई सय ३१ वटा शाखा, दुई सय ३७ वटा एटीएम साथै ६१ वटा एक्टेन्सन काउन्टरको सञ्जाल मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रूपमा अगाडि बढिरहेको छ । करिब १० लाख ग्राहकहरुले डिजिटल प्रविधि मार्फत् बैंकिङ सेवा लिई लाभान्वित भएका छन् । विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
वार्षिकोत्सव कार्यक्रममा २५ वर्ष अटुट सेवा गर्ने तीन जना, २० वर्ष सेवा गर्ने ५३ जना कर्मचारीहरुलाई पदक तथा प्रशंसापत्र प्रदान गरिएको थियो । त्यसैगरी सुरक्षास्थितिको प्रतिकूल अवस्थामा पनि बैंकको सुरक्षा मजबुत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने गौरादह शाखा र नयाँ वानेश्वर शाखाका सुरक्षकहरुलाई पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रममा प्रादेशिक तथा भौगोलिक वर्गका रूपमा उत्कृष्ट उपलब्धि हासिल गरेका १२ शाखालाई समेत पुरस्कृत गरिएको थियो ।
अन्त्यमा, सभाका अध्यक्षले बैंकमा कर्मचारी वर्गलाई आगामी दिनहरूमा अझ सशक्त रुपमा अघि बढ्न आग्रह गर्दै सबैले आ–आफ्ना अधिकार क्षेत्रभित्र रहेर उच्च मनोवल तथा इमान्दारीका साथ कार्यक्षेत्रमा लाग्न प्रेरित गर्दै बैंक व्यवस्थापकलाई सञ्चालक समितिको सदैव साथ रहने विश्वास समेत दिलाए ।