काठमाडौ । शिक्षाको क्षेत्रमा संस्था एम्बार्क अनम्याथले ‘ग्लोबल म्याथ डिबेट लिग’ सुरु गरेको छ । ‘ग्लोबल म्याथ डिबेट लिग’ले गणितलाई विचार, तर्क र कुराकानीको माध्यम बनाउने प्रयास गर्ने जनाइएको छ ।
एम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठिजाले ग्लोबल म्याथ डिबेट लिगले विद्यार्थीहरूलाई परम्परागत कक्षाकोठाभन्दा बाहिरको सोच र अनुभव दिने बताए । यसमा नेपालभरका विद्यालयका पाँच हजारभन्दा बढी विद्यार्थीहरूलाई तीन चरणको संरचित प्रतियोगितामा सहभागी गराउन लागिएको उनले जानकारी दिए । उनका अनुसार स्क्रिनिङ राउन्ड, क्षेत्रीय छनोट र राष्ट्रिय फाइनल राउन्ड हुनेछ । यो प्रतियोगिताले विद्यार्थीहरूलाई सहकार्य, रचनात्मकता र आलोचनात्मक सोचमा जोड दिने आयोजकको भनाइ छ । यस प्रक्रियाबाट विद्यार्थीले आफ्नो विश्लेषणात्मक क्षमता, सार्वजनिकरूपमा बोल्ने आत्मविश्वास र गणितको व्यावहारिक उपयोगबारे गहिरो बुझाइ विकसित गर्नेछन् ।