सोल । दक्षिण कोरियाली अटामोबाइल कम्पनी हुन्डाई मोटर ग्रुपले आगामी पाँच वर्षमा देशमा अभूतपूर्व ८५.८ अर्ब डलरको लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यो कदम सियोल र वाशिङटनबीच भएको नयाँ व्यापार सम्झौताको केही दिनपछि आएको हो ।
एएफपीका अनुसार हुन्डाईले यसलाई ‘कम्पनीको सबैभन्दा ठूलो घरेलु लगानी प्रतिबद्धता’को रूपमा वर्णन गरेको छ । कम्पनीले प्रेस विज्ञप्तिमा भनेको छ, ‘लगानीको ठूलो हिस्सा उच्च स्तरीय एआई प्रविधि आधारित नयाँ व्यवसायहरूमा केन्द्रित हुनेछ, जसले कोरियाको एआई र रोबोटिक्स नवप्रवर्तन प्रणालीको विकासमा योगदान पुर्याउनेछ ।’
योजनाअनुसार, समूहले ‘द्रुतगतिमा परिवर्तन हुँदै गरेको विश्वव्यापी व्यापार वातावरणमा सक्रिय रूपमा प्रतिक्रिया जनाउने क्षमताको’ झलक देखाएको छ । कम्पनीका अनुसार कुल लगानीको करिब ४० प्रतिशत एआई, सफ्टवेयर–डिफाइन्ड वाहन (एसडीभी), विद्युतीकरण, रोबोटिक्स र हाइड्रोजन क्षेत्रमा खर्च हुनेछ । हुन्डाइको यस लगानीले दक्षिण कोरियामा निर्मित गाडीहरूको निर्यात १३ प्रतिशत बढाएर सन् २०३० सम्म २.४७ लाख एकाइ पुर्याउन मद्दत गर्नेछ ।
यस घोषणाअघि, अर्को ठूलो समूह सामसङले पनि समान अवधिमा प्रायः एआई प्रविधिमा ४३१० अर्ब लगानी गर्ने घोषणा गरिसकेको छ । सामसङ इलेक्ट्रोनिक्स विश्वका प्रमुख मेमोरी–चिप निर्मातामध्ये एक हो, जसले एआई उद्योग र यसको पूर्वाधारका लागि महत्वपूर्ण सामग्री प्रदान गर्दछ ।
हुन्डाई मोटर ग्रुपमा कियासमेत पर्दछ र यसले गत वर्ष दक्षिण कोरिया र विदेशमा कुल ७.२ मिलियनभन्दा बढी गाडी बिक्री गरिसकेको छ । यी लगानी प्रतिबद्धताहरू सियोल र वाशिङटनबीचको नयाँ व्यापार सम्झौतासँग सम्बन्धित छन्, जसअन्तर्गत हुन्डाई गाडीहरूलगायत दक्षिण कोरियाली निर्यातमा कर दर २५ प्रतिशतबाट घटाएर १५ प्रतिशत राखिनेछ । तर, यो नयाँ दर पहिलेको स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत लागू भएको २.५ प्रतिशतभन्दा अझै उच्च छ ।