काठमाडौं,काठमाडौंको ठमेलमा रहेको ओसिस क्लबका सञ्चालक र कर्मचारीले प्रहरीमाथि नै सांघातिक आक्रमण गरेका छन् । सादा पोसाकका प्रहरीहरूमाथि गत शनिबार राति उनीहरूले सांघातिक आक्रमण गरेका हुन् ।ठमेलको नर्सिङ चोकमा रहेको एआर कम्प्लेक्समा सञ्चालित बज बार र ओसिस क्लबमा विभिन्न प्रलोभन देखाएर ग्राहकमाथि हुनेगरेको ठगीबारे आर्थिक दैनिकले सप्रमाण समाचार दिएपछि सादा पोसाकमा निगरानी गर्न पुगेका प्रहरीमाथि नै आक्रमण भएको हो ।
पर्यटकीय सहर ठमेलको नर्सिङचोकमा रहेको एआर कम्प्लेसमा तल्लो र माथिल्लो फ्ल्याटमा रहेको ओसिस क्लब र बज बारमा प्रहरीसँगको मिलेमतोमा पर्यटकलाई युवती लगाएर गरिने गरेको ठगी धन्दा आर्थिक दैनिकले सप्रमाण समाचार बनाएको थियो । उक्त समाचार आएपछि सादा पोसाकमा अनुगमन गर्न पुगेका प्रहरीलाई नै युवतीको प्रलोभन देखाएर ठग्ने प्रयास भएपछि प्रतिवाद गर्न खोज्दा ओसिस क्लबका सञ्चालक धुर्ब खड्का र आयुष रावलले सडकमै प्रहरीमाथि सांघातिक आक्रमण गरेका हुन् ।
उक्त घटना गत २९ गते शनिबार राति भएको हो । त्यस रात प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएका सादा पोसाकका घुमुवा प्रहरी त्यस क्षेत्रमा घुम्दै थिए । ओसिस क्लबको गेटबाहिर ग्राहक खोज्दै बसेका आयुष रावलले केटी पाइन्छ जाने हो ? भनेर बटुवालाई प्रलोभन देखाइरहेका थिए । त्यो सुनेपछि प्रहरी रोकिए । रावलको कुरा सुनी रावलले ग्राहक पट्याउने कोसिस गरिरहेका बेला त्यसका सञ्चालक धुर्ब खड्का त्यहाँ पुगे । त्यति नै बेला कसैले पुलिस पुलिस भनिदियो, अनि अड्का र रावल भाग्न खोजे तर सादा पोसाकका प्रहरी करण श्रेष्ठले उनीहरूलाई समाउने कोसिस गरे । त्यही सडकमै उनीहरूको तानातान र कुटाकुट भएको थियो । त्यही नजिकै रहेका अर्को घुमुवा प्रहरी मिलन कार्की पनि थपिए ।
त्यतिबेला त्यहाँ राम्रै रमिते भीड जम्मा भएको थियो । त्यसपछि घटनास्थल पुगेको प्रहरीले खड्का र रावल दुवै जनालाई पक्राउ गरेर नियन्त्रणमा लिएको थियो । शनिबार राति प्रहरीमाथि कुटपिट र अभद्र व्यवहार गरेका ओसिस क्लबका खड्का र रावल सुदूरपश्चिमेली भएको नातामा डीएसपी जागेश्वर भण्डारीको निर्देशनमा आइतबार साँझ प्रहरी हिरासतबाट छुटेका छन् । ड्युटीमा रहेको प्रहरीमाथि आक्रमण गर्ने खड्का र रावल प्रति डीएसपी भण्डारीले सहानुभूति देखाएर छाडेको घटनाप्रति सोह्रखुट्टेका प्रहरीभित्रै असन्तुष्टि बढेको पाइएको छ ।