काठमाडौं । गएको भदौ २३ गते भएको जेन–जी प्रदर्शनपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले गठन भएको दुई महिना बित्दा पनि आफू कसको प्रनिनिधित्व गरेर गठन भएको हो भन्ने साबित गर्न सकेको छैन ।जेन–जी पुस्ताले भदौ २३ गते भ्रष्टाचारविरुद्ध माइतीघर मण्डलामा अनुमति लिएर प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनका दुई माग थिए ः पहिलो– भ्रष्टाचारको अन्त्य, विधिको शासन अर्थात् सुशासन कायम गर्नु र दोस्रो– २३ भदौमा जेन–जी प्रदर्शनलगत्तै त्यही रात केपी ओली नेतृत्वको सरकारले पूरा ग¥यो । बन्द गरिएका सामाजिक सञ्जालहरू खुला ग¥यो । २३ भदौको जेन–जी प्रदर्शन माइतीघर मण्डलादेखि बबमहल, बिजुलीबजार, धोबीखोला पुलसम्म थियो ।
त्यहाँसम्म शान्तिपूर्णरूपमा भएको जेन–जी प्रदर्शनमा बिभिन्न स्वार्थ समूहको घुसपैठ हुनथाल्यो र पुलबाट बानेश्वरमा रहेको संसद् भवनतर्फ घुसपैठी मिसिएको प्रदर्शनकारी अघि बढ्दा प्रदर्शन अराजक र हिंस्र्रक बन्दै गयो । त्यहाँ अहिले जेन–जी पुस्ताको अगुवा दाइ नेता मानिएका सुदन गुरुङ पानी वितरणको भूमिकामा देखिए । महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डे ऐक्यबद्धता प्रदर्शन गर्न प्रदर्शनमा सहभागी भए । जेन–जीको शान्तिपूर्ण प्रदर्शन धोबीखोला पुलबाट अघि बढेपछि हिंस्रक बन्यो । कलिला विद्यार्थीहरूमाथि प्रहरीले अन्धाधुन्ध रूपमा गोली वर्षायो र त्यहीँ १९ जनाको हत्या ग¥यो ।
जेन–जीहरूले बिजुलीबजारबाट अघि बढेको प्रदर्शन अराजक र हिंसक बन्दै गएपछि घुसपैठीयाले प्रदर्शन हाइज्याक गरेको बताए तर हत्या, हिंसा, तोडफोड र आगजनी रोकिएन, साँझसम्म त्यो क्रम चलिरह्यो । त्यही क्रम भोलिपल्ट अर्थात् भदौ २४ गते झन् उग्ररूप लियो ।
संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, प्रधानमन्त्री निवास, शीतल निवास, कोइराला निवास, सिंह निवास चाक्सीवारी, किशुनजीको आश्रम देउवा निवासलगायत देशभर छानीछानी आगजानी भयो । नेपाली सेना मुकदर्शक भएर त्यो आगजनी टुलुटुलु हेरेर बस्यो । प्रहरी हतियार र ड्रेस फालेर ज्यान जोगाउन भाग्यो ।भदौ २३ र २४ गतेको भनिएको जेन–जी प्रदर्शन सबै जेन–जीकै मात्र थिएन । भदौ २३ गते माइतीघर मण्डलादेखि बिजुलीबजारमा रहेको धोबीखोला पुलसम्म मात्र प्रदर्शन जेन–जीको नियन्त्रणमा थियो, त्यहाँबाट अघि बढेपछि सुरु भएको हत्या हिंसाको २४ गते साँझसम्मको आगजनीको घटना देशी–विदेशी घुसपैठको नियन्त्रणमा थियो । २३ गते सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खुला गरेपछि जेन–जीको भ्रष्टाचार रोक्ने र सुशासन कायम गर्ने माग मात्र बाँकी थियो । सामाजिक सञ्जाल खुलेपछि नैतिकरूपमा हत्या, हिंसा, तोडफोड र आगजनीबाट आफूलाई अलग राख्न चाहन्थ्यो तर घुसपैठीयाले जेन–जी प्रदर्शनलाई हाइज्याक ग¥यो र त्यसलाई देशव्यापीरूमा आगजनीमा परिणत गरी देशलाई खरानी बनायो । त्यो अज्ञात समूह भनिएको घुसपैठीयाले देश जलाएर खरानी बनाएपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई खाली कागजमा हस्ताक्षर गराएर त्यसमा राजीनामाको व्यहोरा लेखेर सिपाहीमार्फत राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइयो ।
खाली कागजमा हस्ताक्षर गरेपछि मात्र उनलाई सुरक्षा प्रदान गरियो । प्रधानमन्त्री ओलीले खाली कागजमा हस्ताक्षर गरेर नदिँदासम्म कसैलाई खासगरी कंग्रेसी र एमाले सम्बद्ध नेताहरूलाई सुरक्षा पनि दिइएन् । देश जलेर खरानी भइसकेपछि सेनाले २४ गते राति १० बजेदेखि मुलुकको सुरक्षाको जिम्मा लियो । जनता २४ गते रातभर सुतेर २५ गते बिहान उठ्दा न सडकमा कतै सेनाप्रहरी थिए न कतै प्रदर्शन र नाराबाजी थिए । २४ गते जहाँ–जहाँ आगजनी गरिएको थियो २५ गते त्यहाँ खरानी थिए, पुतपुत धुवाँ आउँदै थियो । अन्यथा सडक, बजार पूणरूपमा शान्त थियो, मानौँ विगत दुई दिन त्यस्तो प्रदर्शन र विध्वंस केही भएकै थिएन ।प्रधानमन्त्री ओलीले हस्ताक्षर गरेको कागज बुझाएपछि सेनाले धेरैजसो नेतालाई सुरक्षा दिने नाममा नियन्त्रणमा लिएर राखेको थियो । तर प्रचण्ड, माधव नेपाललगायतका केही नेता अझै ब्यारेक छिरेर बसेका थिए । ब्यारेकमा रहँदै भारतीय सेना नेपाल छिर्न लागेको हाउगुजी देखाएर प्रचण्ड र ज्ञानेन्द्रलाई मिलाउन खोजिएको कुरा पनि प्रकाशमा आएका छन् तर अहिलेसम्म त्यसको कतैबाट पनि खण्डन भएको छैन । त्यो प्रयास हुन्जेल अब निकास कसरी निस्कन्छ ? को प्रधानमन्त्री हुन्छ ? भन्ने कुरोसम्म पनि उठेन । २६ गते माओवादी अध्यक्ष प्रचण्डले जेन–जी प्रदर्शनलाई उच्च प्रसंशा गरेर ऐतिहासिक कदम भनेर स्वागत गरेर उक्त भित्री प्रयासको संकेत गर्दै तर अपदस्थ राजा ज्ञानेन्द्रले प्रचण्डको समर्थनमा नाराहिटी फर्कने प्रस्ताव अवीकार गरेको भन्ने अपुष्ट समाचार सहरमा हावासरी फैलियो र २५–२६ गते लुकाएर पकाएको खिचडीको घैँटो फुट्यो अनि मात्र सैनिक मुख्यालयमा रिक्रुट भर्ना छनोट सोझै १०–१० जनाको समूह बनाएर प्रधानमन्त्री कसलाई बनाउने भनेर दिनरात नभनी परामर्श थालियो । देशभरबाट सैनिक हेलिकोप्टरमा ओसारिएका हर्क सामपाङजस्ता गाडीमा ओसारेका दुर्गा प्रसाईँ, कुलमानजस्ता व्याक्तिहरूसँग मात्र होइन, आफैँं सैनिक मुख्यालयअगाडि लाइन लाग्न पुगेका सक्कली–नक्कली सबैखाले जेन–जीहरूसँग परामर्श गरियो । सेनापतिसँग सल्लाह गरेर निकाल्नुपर्ने भनी काठमाडौंका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालबाट उर्दी जारी गरेपछि जनतालाई कफ्र्यू लगाइएको भनिए पनि उनीहरू त्यसतर्फ निबार्धरूपमा ओेइरिइका थिए । प्रचण्डको प्रस्ताव अस्वीकार भएपछि परामर्शकारीलाई सुशीला कार्कीको नाम लिन सिफारिस हुन थालेको थियो ।
२६ गते साँझसम्म कुलमान घिसिङ आफैं प्रधानमन्त्री पदको दावी गरिरहेका थिए, त्यतिवेला जेन–जीहरू चाहि मेयर बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने माग गरिरहेका थिए, तर उनलाई ६ महिनाका लागि प्रधानमन्त्री बनाउन नहुने, निर्वाचन पछिको प्रधानमन्त्री बनाउने भनेर जेन–जीको माग पन्छाइएको थियो । त्यतिवेला जेन–जीको दाई पुस्ताका बालेन शाह , सुदन गुरुङहरूले जेन–जीका नेतृत्व र एजेण्डा हाइज्याक गरिसकेका थिए । सेना र उनीहरूको सहमतिमा कार्कीको नाम अघि बढेको थियो, यहाँ सम्मकी २६ गते बेलुका सम्म अज्ञात स्थलमा राखिएका राष्ट्रपति पौडेलले कार्कीलाई भेट्न अस्वीकार गरेको कुरा बाहिर आएको थियो र २७ गते उनले भेट्न तयार भएपछि प्रधानमन्त्री नियुत्तः गर्नु अघि सितल निवास बाहिर कुलमानको पक्षमा नारावाजी भैरहँदा राष्ट्रपतिले कुलमानजीको पनि दावी छ भनी जिज्ञासा राख्दा प्रधानसेनापति अशोकराज सिग्देलले कुरा मिलिसक्यो, उहाँ पनि मन्त्री बन्नुहुन्छ भनी राष्ट्रपति मिलिसक्यो, उहाँ पनि मन्त्री बन्नुहुन्छ भनी राष्ट्रपतिलाई सम्झाएपछि कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
घिसिङ त्यसअघिको रातभर सैनिक मुख्यालयमा थिए, उनलाई बिहान ७ बजे सैनिक मुख्यालयमा थिए, उनलाई बिहान ७ बजेतिर सेनाले निवासमा लगेर छाडेको थियो । प्रधानमन्त्री हुँदै ओलीले सही गरेर दिएको खाली कागजलाई सदुपयोग गरेर उनको राजीनामा र कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सिफारिस तयार भएको थियो । यसरी बनेकी प्रधानमन्त्री कार्कीले अहिलेसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता प्रदान गर्न सकेकी छैनन् ।
प्रजातान्त्रिक शासन व्यवस्थामा निर्वाचनको मिति घोषणा भएपछि सामान्यतया मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गरिँदैन । नियुक्तिमै अप्रजातान्त्रिक र असंवैधानिक भन्ने आरोप लागेकी कार्कीले संविधान नियम कानुन, अन्तर्राष्ट्रिय प्रजातान्त्रिक मूल्य मान्यता र परम्परालाई उतिविधि अनुशरण गर्नेगरेको पनि देखिँदैन । जेन–जीको समर्थनभन्दा पनि जेन–जीको एजेन्डाका हाइज्याकरहरूको सिफारिसमा उनी प्रधानमन्त्री बनेको लगभग स्पष्ट हुँदै गएको छ । ७३ वर्षको जननिर्वाचित बुढो प्रधानमन्त्री ओलीलाई सैन्य आडमा अपदस्थ गरेर ७३ वर्षकै भए पनि जेन–जी प्रतिनिधिको रूपमा उनी प्रधानमन्त्री बनेकी छन् ।
तर उनी प्रधानमन्त्री बनेको दुई महिना बितेपछि उनले मन्त्री बनाएको जेन–जी पुस्ताका दाइ र काका पुस्ताका मन्त्रीहरूले जेन–जीविरुद्ध नै विष ओकल्न थालेका छन् । प्रधानमन्त्री कार्कीले मन्त्री बनाउन राष्ट्रपतिसमक्ष सोच विचारै नगरी नाम सिफारिस गर्ने र सञ्चारमाध्यमले गल्ती औँल्याएपछि आफूले गरेको सिफारिसमा अडान नलिने गैरजिम्मेवार प्रवृत्ति प्रदर्शन गर्दा जेन–जीहरूले आफैँ मुख लुकाएर देखेको नदेख्यै गर्दै आएकै हुन् । काका पुस्ताका मन्त्रीहरूले गरेका भ्रष्टाचारका कुरा धमाधम बाहिर आउँदा पनि जेन–जी प्रतिनिधिहरूले नदेखे नसुनेजस्तै गरेर हिँड्नु परेको अर्थात् बाहिर आएकै छ ।
पछिल्लो समय पेटभरि भात खान पाए असाध्यै आनन्द मान्ने र मन्त्रालयमै डेरा जनमाएर बस्ने शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले जेन–जीहरूले आफूलाई पुर्ने खाडल आफैंँ खनेको आरोप लगाएका छन् । यति मात्र होइन, उनले जेन–जीहरूले आफ्ना माग पूरा गर्न आफैँ निर्वाचनमा भाग लिएर चुनाव जितेर सरकार बनाएर आफ्ना माग आफैँ पूरा गर्नुपर्ने पनि बताएका छन् । अरु मन्त्रीहरूका व्यवहार र शिक्षामन्त्री पुनको यो अभिव्यक्तिले अहिले बनेको सुशीला कार्की नेतृत्वको सरकार जेन–जीहरूको मागअनुसार भदौ २३ गतेको भ्रष्टाचार विरोधी प्रदर्शनकारीहरूको प्रतिनिधि हो कि २४ गते देश जलाउनेहरूको प्रतिनिधि हो भन्ने प्रश्न खडा गरिदिएको छ ।
यसले मात्र होइन, जननिर्वाचित सरकार पपदस्थ हुँदा राजावादीहरू जति प्रसन्न भएका छन् त्यति प्रसन्न र खुशी कोही भएका देखिँदैनन् । राजावादीहरूले सिंहदरबार खरानी हुँदा आफ्नो अभूतवूर्व सफलता ठानेका छन् । राजावादी भनेर खुलेर आउन नसकेको सुसुप्त राजावादी राष्ट्रिय स्वतन्त्र पार्टीले सिंहदरबारलगायत देशभर भएको आगजनीलाई आफ्नो एजेन्डा स्थापित भएको भनी केन्द्रीय समितिको बैठकमै छलफल गरेको छ । राजावादीसँग सहकार्य गर्न असफल प्रयास गर्दै आएका प्रचण्डले पनि जेन–जीको माग आफ्नो एजेन्डा भएको बताउँदै आएका छन् ।माओवादीबाटै प्रधानमन्त्री भएपछि माओवादी छाडेका डा. बावुराम भट्टराई अहिलेको प्रधानमन्त्री कार्कीको अघोषित प्रमुख राजनीतिक सल्लाहकारको भूमिका निर्वाह गरिरहेका छन् । तर जहाँ जे–जे भए पनि शासन सत्तामा चाहिँ उही प्रवृत्ति देखिएको छ, ‘ओल्लो घरको नरे पल्लो घर सरे’ भनेजस्तो मात्रै छ । हिजो एउटाले खान्थ्यो, अहिले अर्कोले असुल्न थालेको छ । त्यो भएन भनेर जेन–जी प्रतिनिधिले कुरो उठाउँदा चुनाव जितेर सरकार बनाऊ, आफ्नो माग आफैँ पूरा गर भनेर ओठेजवाफ आउन थालेपछि जेन–जीको एजेन्डाका हाइज्याकर दाइ पुस्ताले किन काका पुस्ता र हजुरआमा पुस्तालाई ढोँगीढोँगी मन्त्री र प्रधानमन्त्री बनाएका रहेछन् भन्ने पनि अहिले स्पष्ट हुँदै गएको छ ।
तर दिन बित्दै जाँदा कार्की नेतृत्वको चुनावी सरकारले ६ महिनाभित्र चुनाव सम्पन्न गरेर जननिर्वाचित संसद्लाई सरकार सुम्पने सम्झावनामाथि विभिन्न कोणबाट आशंका गर्न थालिएको छ । जेन–जी प्रदर्शनका हाइज्याकर र घुसपैठीहरूले प्रधानमन्त्री ओलीको राजीनामा र संसद् विघटन गराए, आगामी फागुन संसद् विघटन गराए, आगामी फागुन २१ गते चुनाव गर्ने घोषणा गराए । जननिर्वाचित सरकारलाई राजीनामा गराउने, संसद् विघटन गराउने, प्रशासनिक भवनहरू जलाएर स्थायी प्रशासन संयन्त्र भत्काउने, प्रहरी प्रशासनको मनोबल उठ्नै नसक्ने गरी गिराउने, अड्डा अदालतमा भएका महत्वपूर्ण कागजात र दस्ताबेज जलाएर प्रमाणविहीन बनाउनेजस्ता अपराध गदौ २४ मा भएका छन् ।
भदौ २३ को जेन–जी प्रदर्शनको आडमा कार्की सरकार गठन भएको थियो भने जेन–जी अगुवा प्रतिनिधिहरूसँग सरकारले यसअघि तत्कालीन विद्रोही नेकपा माओवादीसँग गरेजस्तै शान्ति सम्झौता गर्ने थियो । सरकार गठन भएको दुई महिना बित्दा पनि जेन–जीका माग र एजेन्डामा कार्की सरकार जानै चाहेको देखिएन तर गएको चैत १५ गतेको प्रदर्शनपछि भारतीय कुख्यात गुण्डा लरेन्स विस्नोइको प्रतिनिधि बनेर नेपालको सीमापारीबाट नेपालभित्रका उद्योगी व्यवसायी तथा सरकारी अधिकारीहरूलाई फोन गरेर धम्काउने गरेको आरोप लागेको लागेका दुर्गा प्रसार्ईँलाई अहिले भद्रकाली मन्दिरमा लगेर धार्मिक नेता बनाउन सिंगारपटार गरिएको छ । अहिलेसम्म कार्की सरकारले जेन–जी पुस्तालाई संगठित हुनै नदिएर तितरबितर मात्र बनाएन कि उनीहरूको मुद्दालाई अर्कोतिर मोड्ने सक्दो प्रयास गरिरहेको छ ।
अब यो सरकारले सकेसम्म मुद्दालाई अर्कोतर्फ मोड्छ र मोड्न नसके राजीनामा दिएर भाग्छ ।
त्यसरी भाग्दा पनि मुद्दा अर्कोतिर नै किन मोडिन्छ भने अहिले अर्को सरकार दिने संसदविहीन अवस्था छ । त्यतिबेला यसले माइकिङ गरेर सेनामा रेक्रुट भर्ना गरेजस्तो गरी राजनीतिक शून्यतालाई निकास दिने नाममा संवैधानिक प्रावधानविपरीत कार्कीलाई प्रधानमन्त्री बनायो, फेरि सबै शक्ति स्वतः उतै फर्कनेछ । त्यसको वातावरण बनाउन अहिले स्थापित ठूला दललाई सेनाको अनुकूल हुने गरी रूपान्तरण गर्ने प्रयास भइरहेका छन् । बहुदलीय व्यवस्थामा दल कमजोर भए लोकतन्त्र कमजोर हुन्छ र अराजकता निम्तिन्छ । अहिले जबरजस्तीरूपमा स्थापित दल खासगरी नेपाली कांग्रेस र नेकपा एमालेलाई कमजोर बनाउने प्रयास भइरहेको छ ।
जेन–जी प्रदर्शन र यी दुई दल टुटाउने फुटाउनेबीच कुनै वैध अन्तरसम्बन्ध देखिँंदैन तर त्यस्तो प्रयास हुन र दलीय व्यवस्थाप्रति घृणा फैलाउन खोज्नुले सुशीला कार्की नेतृत्वको सरकार भदौ २४ को तोडफोड, हत्या, हिंसा र आगजनीको प्रतिनिधित्व गरिरहेको छ । यसले निरंकुशताको नर्सरी बनाउन लागेको जस्तो देखिएको छ, जेन–जीको मागअनुसारको विधिको शासन भ्रष्टाचार अन्त्य र सुशासन त लोकतन्त्रविना सम्भव देखिँदैन ।सरकारका अहिलेका तमाम क्रियाकलापले यो सकार भदौ २४ को हत्या हिंसा र आगजनीको उपज हो, २३ भदौको जेन–जी प्रदर्शनको भावनाको प्रतीक होइन भन्ने स्पष्ट हुँदै गएको छ ।