दोलखा । पछिल्लो केही दिनदेखि दोलखाको वैतेश्वर गाउँपालिका र जिरी नगरपालिकामा जंगली जनावर भालु आतंकसँगै आक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय दोलखाले सुरक्षाकर्मी सहित नियन्त्रण टोली खटाउने भएको छ ।
मंगलबार भएको सर्वपक्षीय छलफलले भालु आतंक तथा जोखिम क्षेत्रमा गएर भालु बस्ने स्थलको स्थलगत अध्ययन अनुगमन गरि नियन्त्रणको प्रयास गरिने निर्णय गरेको हो । छलफलमा वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिमाल, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख ज्ञानकुमार महतो, डिभिजन बन कार्यालय दोलखाका प्रमुख अनिल रेग्मी, वैतेश्वर–३ का वडा अध्यक्ष कमल अधिकारी सहभागी थिए । संयुक्त छलफलले सुरक्षाकर्मी, वन अधिकृत र स्थानीयतहका जनप्रतिनिधिको टोलीले स्थलगत अनुगमन गर्ने डिभिजन बन कार्यालयका प्रमुख अनिल रेग्मीले बताए । भालु हिड्ने बाटो र जोखिम क्षेत्रमा क्यामेरा राख्ने समेत छलफलले निर्णय गरेको छ । जिरी नगरपालिका र वैतेश्वर गाउँपालिकामा दिनहुुँ भालु भेटिन थालेपछि स्थानीय त्रसित बनेका हुन् । अघिल्लो महिना भालुको आक्रमणबाट वैतेश्वर गाउँपालिका–३ ठाडेमा एक जना पुरुषको मृत्यु भएको थियो । सोही अवधिमा वैतेश्वर मिर्गेसँगै सिमाना जोडिएको जिरी निगालेमा चार जना भालुको आक्रमणमा परेर घाइते हुन पुगेका थिए ।
गत वर्षहरुमा जिल्लाको गौरीशंकर गाउँपालिकाको माथिल्लो लेक क्षेत्रमा फाट्टफुट्ट देखिने जंगली जनावर भालु हाल बेँसी झरेका हुन् । स्थानीयलाई आक्रमण गर्दै बालीनाली समेत क्षति गर्ने गरेको स्थानीय पुष्कर कुमार दाहालले बताए । दाहालले आइतबार बिहान स्थानीय पातलेको ओडारे खोलामा बच्चा सहितको भालु देखेपछि गाउँमा त्रास बढेको जानकारी दिए । पहाडी तथा लेकमा पाइने भालु तराई र हिमालमा पाइने भन्दा बढी हिंस्रक र ठूलो हुन्छ । शारीरिक बनावट ठूलो हुने भएकाले यस क्षेत्रमा पाइने भालुलाई बढी आहार तथा चरण चाहिने गर्छ । उक्त भालु लेक वेशी डुल्ने गर्छ । सोही अनुसार चरण चारो र आहारको खोजीमा औलका वन जङ्गल झरेको सब डिभिजन वन कार्यालय जिरीका बन रेन्जर प्रमोद कुमार आग्रीले बताए । लेकमा भालुले प्राप्त आहार भोजन नपुगेको कारण आहारको खोजीमा तल्लो क्षेत्रमा भालु देखिन थालेको उनले बताए ।