वासिङटन । संयुक्त राज्य अमेरिकाले साउदी अरेबियालाई एफ–३५ लडाकु जेट बिक्री गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी राजकुमार मोहम्मद बिन सलमानसँग ह्वाइटहाउसमा भेटवार्ताअघि यसबारे जानकारी दिएका हुन् ।
‘हामी उनीहरुलाई एफ–३५ विमानहरु बिक्री गर्नेछौँ’, उनले भने, ‘उनीहरु हाम्रा ठूलो मित्र हुन् ।’ बीबीसीका अनुसार मंगलबार साउदी राजकुमार ह्वाइटहाउस जाँदै छन् । खासगरी प्रतिरक्षा र गैरसैनिक आणविक ऊर्जाबारे सम्भावित सम्झौतालाई लिएर दुई देशबीच वार्ता हुनलागेको हो । सात वर्षअघि पत्रकार जमल खसोगीको हत्या भएयता यो साउदी राजकुमारको पहिलो भ्रमण हो ।
अमेरिकी जासुसी निकायको अनुसन्धानले पत्रकार जमलको हत्या साउदी राजकुमारले नै गर्न लगाएको खुलासा गरेको थियो । यद्यपि उनले भने आरोप अस्वीकार गर्दै आएका छन् । ट्रम्पको पहिलो राष्ट्रपतीय कार्यकालमा सन् २०१८ मा साउदी राजकुमारले अमेरिका भ्रमण गरेका थिए । तर पूर्वराष्ट्रपति जो बाइडेनको पालामा भने उनको भ्रमण हुनसकेन । मानवअधिकारको विषयलाई अमेरिकाले उठाउँदै आएको छ ।
गत मे महिनामा ट्रम्प र राजकुमारबीच रियादमा भेटवार्ता भएको थियो । सो क्रममा अमेरिकाले १ खर्ब ४२ अर्ब अमेरिकी डलर मूल्यबराबरको शस्त्रास्त्र साउदी अरेबियालाई बिक्री गर्न सहमति दिएको थियो । ह्वाइटहाउसले यसलाई इतिहासकै ठूलो हतियार बिक्री भनेको थियो । यसलाई साउदीले गर्ने ६ खर्ब डलर लगानीको एक अंश मानिएको छ । साउदी अरेबिया संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो हतियार खरिदकर्ता समेत रहँदै आएको छ ।
एफ–३५ बिक्रीको कुरा उठेपछि केही अमेरिकी सरकारी अधिकारी भने झस्किएका छन् । खासगरी यसको गम्भीर स्टिल्थ प्रविधिमा साउदी अरेबियाको पहुँच पुग्ने भएकाले कतिपयले विमान बिक्री गर्न नहुने समेत बताउँदै आएका छन् । साउदीले यसबारे जानकारी पाउँदा त्यो चीनसँग बाँड्ने भय उनीहरुमा देखिएको छ । यता इजरायली अधिकारीहरु समेत यो निर्णयबाट सशंकित भएको बताइएको छ ।
एउटा एफ–३५ ए जेटको मूल्य नै ८२.५ मिलियन अर्थात् ८ करोड २५ लाख अमेरिकी डलर पर्ने निर्माता लकहिड मार्टिनले जनाएको छ । ह्वाइटहाउसको भेटवार्तामा ट्रम्पले साउदी राजकुमारलाई अब्राहम सम्झौतामा हस्ताक्षर गर्न लगाउने सम्भावना छ । यो खासगरी मध्यपूर्वमा इजरायल र साउदीबीचको सम्बन्धमा सुधारका लागि गरिरहेको प्रयासस्वरुप अमेरिकाका लागि अपरिहार्य रहेको बताइन्छ ।