काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सव मनाएको छ । बैंकले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरि आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको छ ।
कात्र्तिक २७ गते बिहिबार देशव्यापी रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय सहित सम्पूर्ण क्षेत्रीय कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न स्थानहरूमा सम्पन्न भएको रक्तदान कार्यक्रमबाट कुल चार सय २९ पिन्ट रगत संकलन भएको छ । बैंकका संचालक भीमप्रसाद तुलाचनबाट बैंकको बुटवल क्षेत्रमा भएको रक्तदान कार्यक्रमको समुद्घाटन भएको थियो भने केन्द्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल रक्तसंचार केन्द्रकी भावना पाण्डेलाई ब्लडव्याग हस्तान्तरण गरी समुद्घाटन गरेकी थिइन् । रक्तदान कार्यक्रम कोशी प्रदेशको विराटनगर शाखा, मधेस प्रदेशको बर्दिबास शाखा, नारायणगढ क्षेत्रको नारायणगढ शाखा, पोखरा क्षेत्रको न्युरोड पोखरा शाखा, बुटवल क्षेत्रको बुटवल शाखा र पश्चिम क्षेत्रको नेपालगञ्ज शाखामा भएको रक्तदान कार्यक्रममा क्षेत्रीय प्रमुख, स्थानिय समाजसेवी, रक्तदाता तथा कर्मचारीहरूको उपस्थिती रहेको थियो ।
बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा अन्तर बैंक तथा वित्तीय संस्था स्तरीय पुटलस कप (पाँचौं संस्करण) पनि आयोजना गरेको थियो । उक्त प्रतियोगितामा पुरुषतर्फ सिद्धार्थ बैंक र महिलातर्फ लुम्बिनी विकास बैंक विजयी भएको थियो । १९औं वार्षिकोत्सवकै अवसरमा बैंकको अमरसिंह शाखाले अमरसिंह उच्चमावि र पोखरा न्युरोड शाखाले पार्दी माविमा वित्तीय साक्षरता कार्यक्रम समेत सम्पन्न गरेका छन् ।
वार्षिकोत्सवको अवसर पारेर बैंकले नयाँ निक्षेप योजना ‘अल्फाग्रो’ समेत सार्वजनिक गरेको छ । बैंकका अनुसार यो खाता १८ वर्ष सम्मका उमेर समूहका बालबालिकाहरूलाई लक्षित गरिएको हो । ‘अल्फाग्रो’ खाताको विशेषतामा, खाताखोल्ने ग्राहकहरूलाई बैंकले आकर्षक खुत्रुके उपलव्ध गराउने र खातावालाको ५० हजार रुपैयाँ सम्मको जीवन बीमा बैंकले नै व्यवस्था गर्नेछ ।
उक्त जीवन बीमाको प्रिमियम, खातावाला १८ वर्ष नपुग्दासम्म बैंकले नै भुक्तानी गर्ने बैंकले जनाएको छ । जसले बालबालिकाको भविष्यलाई सुरक्षित र दिगो बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । ‘अल्फाग्रो’ खातामार्फत् बालबालिकामा बचत गर्ने बानीको विकास र अभिभावकहरूलाई भविष्यमुखी वित्तीय सुरक्षाप्रदान गर्ने उद्देश्य बैंकले लिएको छ ।