जेन-जी अभियानका अभियन्ता मिराज ढुंगानाको समूहभित्र उत्पन्न विवादका कारण काठमाडौंको नक्सालस्थित उनको कार्यालयमा तोडफोड र हातपात भएको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार (मंसिर ३०) साँझ करिब ६ बजे ढुंगाना समूहका केही सदस्य छलफलका लागि कार्यालय पुगेका थिए। छलफलकै क्रममा उनीहरूबीच भनाभन चर्किँदा तोडफोड र सामान्य हातपात भएको प्रहरीको प्रारम्भिक भनाइ छ। परिसरका प्रवक्ता एसपी पवन भट्टराईले घटनामा कुनै पार्टीका कार्यकर्ताको संलग्नता नभई ढुंगानाको समूहभित्रकै साथीहरू सहभागी रहेको संचारमाध्यमहरुलाई बताएका छन् । “आफू-आफूबीच विवाद हुँदा तोडफोड र सामान्य हातपात भएको हो। सूचना आएपछि प्रहरी खटिएको थियो,” उनले बताए। आक्रमणपछि मिराज ढुंगानाले आफ्नो कार्यालय र समूहभित्रैका सदस्यबाट हातपात भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस सार्वजनिक गरेका छन्। हालै उनले ‘गरी खान देऊ’ नामक समूह घोषणा गर्दै विभिन्न गतिविधि अघि सारिरहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।