काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले कर प्रणाली सुधार बिना आर्थिक रुपान्तरण सम्भव नभएको बताएका छन् ।
परिसंघले बुधबार आयोजना गरेको राजस्व प्रणालीमा सुधारसम्बन्धि सार्वजानिक निजी संवाद कार्यक्रममा उनले तत्कालै कर प्रणाली सुधार गर्नुपर्ने बताए । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न आग्रह गर्दै उनले कर प्रणाली सुधारलाई आर्थिक रुपान्तरणको मूल आधार मान्नुपर्नेमा जोड दिए । अर्थमन्त्री, अर्थसचिवलगायत सरोकारवाला अधिकारी उपस्थित कार्यक्रममा अध्यक्ष पाण्डेले निजी क्षेत्र समेत सहभागी भएर तयार पारेको प्रतिवेदन यथार्थ र व्यावहारिक भएकाले त्यसलाई परिणाममा पुर्याउन सरकार गम्भीर हुनुपर्ने बताए । उनले हाल मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गरे । उनले भने, ‘लगानी अभिवृद्धि रोकिएको छ, बैंकिङ प्रणालीमा तरलता छ, ब्याजदर एकल अंकमा छ, मूल्यवृद्धि न्यून छ तर बजार माग कमजोर भएकाले उद्योगहरू न्यून क्षमतामा चलिरहेका छन् । यस्तो स्थितिमा कर प्रणालीमा सुधार अनिवार्य छ ।’ हाल बैंकहरूमा ठूलो मात्रामा लगानीयोग्य रकम बाँकी रहेको उनले बताए । उद्योग एवं बजारमा माग नबढ्दा आर्थिक गति सुस्त रहेको उनको भनाइ छ । बैंकमा पैसा थन्किनु अर्थतन्त्रका लागि राम्रो संकेत नभएको उनले बताए । यसको प्रत्यक्ष असर राजस्व संकलनमा पर्ने समेत उनको भनाइ छ ।
अध्यक्ष पाण्डेले कर नीतिमा निरन्तरता, स्थिरता र पूर्वानुमानयोग्यता नहुँदा लगानीकर्ता झस्किने गरेको बताए । उनले नीतिगत स्थायित्वलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरे । करप्रणाली स्थीर नहुँदा स्वदेशी र विदेशी कसैले पनि लगानी नगर्ने उनले बताए । लगानी विस्तार एवं औद्योगिक वातावरणका लागि नीतिगत स्थायित्व निकै आवश्यक रहेको उनको भनाइ छ । लगानीकर्ताको लगानीको आधार समेत कर सम्बन्धि नीति हुने उनको भनाइ छ । अध्यक्ष पाण्डेले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना–२०८२ ले कर प्रणाली सुधारलाई केन्द्रमा राखेकाले सार्वजानिक निजी संवाद पनि त्यही विषयलाई केन्द्रित गरिएको जानकारी दिए ।