काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं. ४ कलैया, बाराका तत्कालीन निमित्त डिभिजन प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार २०७९/८० को बजेटअन्तर्गत बारा जिल्लामा विभिन्न निर्माण कार्यका लागि आह्वान गरिएका २३ वटा बोलपत्र राष्ट्रिय दैनिक पत्रिकामा अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था भएपनि कार्यलय र मिडिया प्रमुखको मिलेमत्तोमा सूचना लुकाएर ठेक्का प्रक्रिया अघि बढाएको खुलेको छ । आयोगले तत्कालीन डिभिजन प्रमुख किशोरी प्रसाद यादव, लेखापाल प्रदीप दास तथा सान्दर्भिक मिडिया नेटवर्क प्रा.लि.का प्रबन्धक निसान्त सिग्देल र प्रभाव दैनिकका बजार प्रबन्धक सन्तोषराज खरेलले मिलेर बोलपत्रको सूचना प्रभाव दैनिकमा अभिलेखको लागि एकमात्र पत्रिकामा छापेको पाइएको जनाएको छ । कार्यलयले उक्त सूचनालाई आधार मानेर झुट्टा बिल तयार गरी तीन लाख १६ हजार पाँच सय ७० (अग्रिम कर बाहेक) सान्दर्भिक मिडिया नेटवर्क प्रा.लि.लाई भुक्तानी गरेको थियो । साथै सोही रकममध्ये ५० हजार रुपैयाँ प्रभाव दैनिकका बजार प्रबन्धक खरेलले बैंकमार्फत प्राप्त गरेको आयोगले जनाएको छ ।
प्रेस काउन्सिल नेपाल र प्रभाव पब्लिकेशन प्रा.लि.का पत्रहरूमा पनि सो मितिको प्रभाव दैनिकमा बोलपत्र सूचना कहीं पनि प्रकाशित नभएको पुष्टि भएको आयोगले जनाएको छ ।
अनुसन्धानपछि आयोगले उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१)(ङ) तथा ऐनको दफा २२ बमोजिम कारबाही गर्न माग गर्दै आरोपपत्र दायर गरेको हो । उनीहरुविरुद्ध तीन लाख १६ हजार पाँच सय ७० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।