काठमाडौ । नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरले स्टार्ट–अप उद्यमशीलता अभिमुूखीकरण कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा बुधबार उक्त कार्यक्रम आयोजना गरिएको हो ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँगको सहकार्यमा महिला चेम्बरले गरेको स्टार्ट–अफ उद्यमशीलता कार्यक्रमबाट एक सयभन्दा बढी नवप्रवर्तनहरु लाभान्वित भएका थिए । सरकारले सुरु गरेको स्टार्ट–अप कर्जा लिन चाहनेका लागि कर्जा प्रक्रीया, उद्योगको प्रकृतिलगायतका विषयमा नवप्रवर्तनहरुलाई अभिमुूखीकरण दिइएको थियो । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आह्वान गरेको स्टार्ट–अप कर्जाको प्रस्तावका लागि मंसिर ९ गतेसम्मको समय तोकिएको छ । चेम्बर भवनमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुुप्ताले स्टार्ट–अप कर्जा प्रस्ताव, कर्जा पाउने प्रक्रिया, कर्जा उपलब्ध गराइने क्षेत्रलगायतका विषयमा नवप्रवर्तनहरुलाई जानकारी दिएका थिए । चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले स्टार्ट–अप कर्जालाई सातै प्रदेशमा विस्तार गरेर उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिए । आगामी आर्थिक वर्षको बजेटमा वृद्धि गरेर स्टार्ट–अप कर्जालाई देशव्यापीरुपमा विस्तार गर्नुपर्ने उनको भनाइ छ ।
स्टार्ट–अप कर्जा लिएर उद्यमशीलता गरेका नवप्रर्वद्धनहरुको सफल कथाहरुलाई बाहिर ल्याउनुपर्ने एवं उनीहरुको उत्पादन र बजारीकरणका लागि सहयोग हुनुपर्ने अध्यक्ष अग्रवालले बताए । स्टार्ट–अप कर्जासम्बन्धी थप अध्ययन अनुसन्धानमा चेम्बरले सहयोग गर्ने अध्यक्ष अग्रवालले बताए ।