काठमाडौ । नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रहरुमा फोर–जी सेवा सञ्चालनमा ल्याएको छ । देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा कम्पनीले कर्णालीमा सेवा विस्तार गरेको हो ।
कम्पनीका अनुसार हुम्ला जिल्लाको सर्केगड–३ र सर्केगड–६ मा टुजी तथा फोर–जी सेवा सञ्चालनमा आएको छ । सर्केगाड गाउँपालिकाका वडा नं. २, ३,४ र ६ अन्तर्गत पर्ने गाउँबस्ती आसपासको क्षेत्रहरुमा सेवाग्राहीहरूले पहिलो पटक गुणस्तरीय सेवाबाट लाभान्वित भएका छन् । सेवा विस्तार भएका स्थानहरुमा उनापानी, स्यालटाडी, बराई गाउँ, ठूलाचौर, साधेकाट, रिपा, सर्केदेऊलगायतका क्षेत्रहरु पर्दछन् । यसैगरी टेलिकमले हुम्ला जिल्लाको अदानचुली–६ मा पनि फोर–जी सेवा सञ्चालनमा ल्याएको छ । फोर–जी सेवा सञ्चालनमा आएसँगै सर्केगाड गाउँपालिकाको वडा नं. २ र अदानचुली गाउँपालिकाका वडा नं. २, ३, ४, ५ र ६ अन्तर्गत पर्ने गाउँबस्ती आसपासको क्षेत्रहरुमा सेवाग्राहीहरू लाभान्वित भएका छन् । सेवा विस्तार भएका स्थानहरुमा पानचौर, कालिकालगायतका क्षेत्रहरु पर्दछन् । दैलेख जिल्लाको गुराँस गाउँपालिकाको पर्यटकीय क्षेत्र गुराँसमा पनि कम्पनीले फोर–जी सेवा सञ्चालनमा ल्याएको छ । सो सेवा सञ्चालनमा आएसँगै गुराँस गाउँपालिका वडा नं. ३, ४, र ५ अन्तर्गत पर्ने गुराँस बजार क्षेत्र, गाउँपालिका कार्यालय क्षेत्र, गोगनपानी, पातीकान्लालगायतका गाउँहरू, वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ अन्तर्गत पर्ने बयलकाँडालगायतका क्षेत्रहरू, तथा बराहताल वडा नं. ९ अन्तर्गत पर्ने लेकगाउँलगायतका भू–भागहरूमा सेवाग्राहीहरूले पहिलो पटक गुणस्तरीय फोर–जी सेवाबाट लाभान्वित भएका छन् ।
यसैगरी टेलिकमले जाजरकोट जिल्लाको जुनीचांदे गाउँपालिकाको कोत्राङ्गमा पनि फोर–जी सेवा सञ्चालनमा ल्याएको छ । फोर–जी सेवा सञ्चालनमा आएपछि जुनीचाँदे गाउँपालिकाका विभिन्न वडाहरु वडा नं. ७, ८, ९, १० र ११ अन्तर्गत पर्ने गाउँबस्ती आसपासको क्षेत्रहरुमा सेवाग्राहीहरूले पहिलो पटक गुणस्तरीय सेवाबाट लाभान्वित भएका छन् । डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिकाका विभिन्न बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् । वडा नं १०को मिदग्ती लेकमा निर्माण गरिएको टेलिकमको फोर–जी टावर सञ्चालनमा आएसँगै सञ्चार सुविधाबाट वञ्चित फोक्सुन्डो ट्रेल, यार्सा पाटनसहित आधा दर्जन बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् । साथै, सुलिगाड स्थित शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय, सैनिक ब्यारेक क्षेत्र, फोक्सुन्डो ट्रेलको प्रमुख बस्तीभित्र पर्ने छेप्का, भोक्पा, सागबारीलगायतका क्षेत्र पनि सञ्चारको पहुँचमा जोडिएका छन् ।