बाराको सिमरामा जेन–जी युवामाथि कुटपिट गरेको आरोपमा दुई जना वडाध्यक्ष पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष कैमोदिन अन्सारी रहेका छन्। दुवैजना एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।
बुधबार सिमरामा भएको वादविवादका क्रममा जेन–जी युवामाथि हातपात भएको दाबीसँगै जिल्ला प्रहरी कार्यालय बाराले उनीहरूलाई नियन्त्रणमा लिएको हो। आफूहरूमाथि कुटपिट भएको भन्दै जेन–जी अगुवा सम्राट उपाध्यायले श्रेष्ठ, अन्सारीसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। बाँकी चार जना पक्राउ नगरिएको भन्दै जेन–जी युवाहरूले आज बिहानदेखि सिमरा चोकमा टायर बालेर प्रदर्शन थालेका छन्। प्रदर्शनका कारण यातायात पूर्णरूपमा असर परेको छ।
एमालेले बुधबार बाराको परवानीपुरमा मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो। उक्त कार्यक्रममा सम्बोधन गर्न उपाध्यक्ष शंकर पोखरेल, पोलिट्ब्युरो सदस्य महेश बस्नेतलगायतका नेता काठमाडौंबाट सिमरा आउँदै थिए। सो स्थलगत कार्यक्रमलाई लक्षित गर्दै जेन–जी अगुवा उपाध्यायले मंगलबार बेलुकै सामाजिक सञ्जालमार्फत शान्तिपूर्ण विरोधको आह्वान गरेका थिए।
यही विषयलाई लिएर बुधबार बिहान सिमरा चोकमा एमाले नेता–कार्यकर्ताले उपाध्यायमाथि हातपात गरेको थियो। त्यसपछि आक्रोशित युवाहरू एमाले नेताहरूलाई पछ्याउँदै सिमरा विमानस्थल पुगेका थिए, जसका कारण स्थिति थप तनावपूर्ण बनेको थियो। जेन–जी युवाहरूले विमानस्थलको मुख्य गेट ढालिदिनुका साथै भित्रै ढुंगा तथा बोतल प्रहार गर्दै नाराबाजी गरेपछि प्रहरीले अश्रुग्यास र लाठीचार्जका माध्यमबाट स्थिति नियन्त्रणमा लिएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।