काठमाडौँ । भारत सरकारले ७० मिटर लामो मोड्युलर पुलको पूर्ण सेट र पुल जडान गर्न प्रयोग हुने विशेष उपकरण नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तले हेटौँडामा बिहीबार आयोजित एक समारोहबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई उक्त उपकरण हस्तान्तरण गरेकाको दूतावासले जनाएको छ ।
पूर्वी नेपाललाई प्रभावित पारेको सन् २०२५ अक्टोबरमा आएको विनाशकारी वर्षापछि नेपाल सरकारले अनुरोध गरेअनुसार भारत सरकारले १० वटा यस्ता ७० मिटर लामो र अग्ला स्प्यान पुल प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । ७३ करोडभन्दा बढी मूल्यका १० वटा बेलिब्रिजहरू भारतले अनुदानका आधारमा प्रदान गर्ने जनाएको छ ।
बिहीबार हस्तान्तरण गरिएको मोड्युलर पुललाई तुरुन्तै रामेछापमा जडानका लागि पठाइनेछ । जहाँ सन् २०२५ अक्टोबरमा भारी वर्षापछि सडक ‘कनेक्टिभिटी’ प्रभावित भएको थियो । गत वर्ष सन् २०२४ सेप्टेम्बरमा आएको बाढी र पहिरोपछि भारत सरकारले ४१ करोडबराबरका १० वटा ‘प्री–फ्याब्रिकेटेड’ स्टिल ब्रिज उपलब्ध गराएको थियो जसमध्ये चारवटा जडान भइसकेका छन् ।