काठमाडौँ । प्रभु म्यानेजमेन्ट प्रालिका पूर्वसेयरधनी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार ‘ठगी तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुर समेतमा प्रभु म्यानेजमेन्टका पूर्वसेयरधनी तथा हालका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका हुन् ।
प्रवक्ता श्रेष्ठका अनुसार ठाकुरप्रसाद मानन्धरलगायतले जाहेरी दिएपछि कुसुम लामा समेत भएको ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर मुद्दामा महाजुलाई पक्राउ गरिएको हो । उक्त मुद्दामा यसअघि नै सीआईबीले अनुसन्धान गरिरहेको छ । सो क्रममा संकलित प्रमाणहरुको आधारमा महाजु पक्राउ परेका हुन् । प्रभु म्यानेजमेन्टको नाममा रहेको सिटिजन्स बैंकको खातामा विभिन्न व्यक्तिहरूको नामबाट शंकास्पद रूपमा १० लाख रुपैयाँ नबढ्ने गरी नौ लाख ९९ हजार पाँच सय रुपैयाँ समेतका दरले पटक–पटक शंकास्पदरूपमा रकम जम्मा भएको देखिएको सीआईबीले जनाएको छ ।
त्यस्तै रेमिट कारोबारको क्रममा प्रभु म्यानेजमेन्ट प्रालिले रेमिट रकम भुक्तानी (आउटवार्ड रेमिट) मात्र गर्नुपर्नेमा प्रस्तुत कारोबारमा एकै दिनमा पटक–पटक शंकास्पद रकम जम्मा भएको देखिएको, प्रभु म्यानेजमेन्ट प्रालिको नाममा सञ्चालन भएको सिटिजन्स बैंक लि.को खातामार्फत रेमिट कारोबारको आवरणमा अवैधरूपमा नेपालमा विप्रेषण बापत प्राप्त हुने रकम हुण्डीमार्फत प्राप्त गरी हिसाब मिलान गरेको देखिएको पनि सीआईबीको भनाइ छ ।
सोही कसुरमा संलग्न रहेका मध्ये महाजु एक हुन् । उनी प्रभु म्यानेजमेन्ट प्रालिका पूर्वसेयरधनी, प्रभु म्यानेजमेन्ट प्रालिको लेखा शाखामा कार्यरत तथा हुण्डीमार्फत रकम जम्मा भएको सिटिजन्स बैंक लि.मा रहेको प्रभु म्यानेजमेन्ट प्रालिको खाता सञ्चालकमध्येका एक हुन् । काभ्रेपलान्चोक पनौती नगरपालिका ८, पनौती घर भई हाल ललितपुरको गोदावरी नगरपालिका ३ टौखेलमा बस्दै आएका थिए । उनी टौखेलबाट पक्राउ परेको र थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।