काठमाडौं । बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्ने कार्यमा भएको अवरोध हटेको छ । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले केही दिनयता आन्दोलन थालेपछि बिहीबार सरकारले उनीहरूसँग ११ बुँदे सहमति गरेको हो ।
यसअनुसार स्थानीय जनतालाई विगतमा चलाइएका मुद्दाहरूको सम्बन्धमा तत्काल निर्णग गरी पत्राचार गरिने भएको छ । त्यसैगरी ईआईए प्रतिवेदन छिटो तयार गर्नका लागि कन्सल्ट्यान्ट कम्पनीलाई पत्राचार गरी सोको लिखित प्रतिबद्धता समेत लिने तथा आगामी आवको बजेटमा ईआईए प्रतिवेदनअनुसारको जग्गा अधिग्रहणको लागि आवश्यक बजेट विनियोजन गर्ने कार्य अगाडि बढाउने निर्णय समेत गरिएको छ ।
यस्तै बन्चरेडाँडाको स्थानीयहरूको लागि तत्काल आव २०८२÷०८३को घरटहरा तथा बालीको मुआब्जा दिनको लागि काठमाडौं महानगरपालिकालाई पत्राचार गर्ने साथै कामनपाले समेत एक महिनाभित्र बन्चरे क्षेत्रको अतिप्रभावित स्थानीयलाई साबिकमा सिसडोलबाट प्रभावित क्षेत्रलाई लिएको आधारमा बन्चरेको हकमा समेत सोहीलाई आधार मानी हालको मूल्यमा घरटहरा तथा बालीको क्षतिपूर्ति प्रदान गर्ने निर्णय भएको छ ।
फोहोर फाल्नको लागि तयार पारेको क्यापिङ लेयरभन्दा पनि बाहिर गएर वरपरको डाँडा कटान गरी फोहोर फालेको कारण लिचेट सिधै पानीको मुहानमा मिसिएको कारण कोल्पुखोला प्रदूषण भई स्थानीयको जीवनयापनमा ठूलो असर परेको हुँदा सो कार्य तत्काल रोकी उक्त कार्य गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने साथै लिचेटको उचित व्यवस्थाको लागि १५ दिनभित्र विज्ञको टोली तयार गरी फिल्ड निरीक्षण समेत गरी दीर्घकालीन समाधानको बाटो अपनाउने निर्णय भएको छ ।
निर्णयको पाँच नम्बर बुँदाअनुसार बन्चरे र सिसडोलको अतिप्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई विशेष कार्डको व्यवस्था वा अन्य कुनै माध्यमबाट काठमाडौं महानगरपालिकाभित्रको कुनै पनि सरकारी अस्पतालमा जुनसुकै रोग लागेमा समेत निःशुल्क उपचारको व्यवस्था अबको एक महिनाभित्र मिलाउने साथै शिक्षाको सम्बन्धमा समेत काठमाडौं उपत्यकाभित्रको स्कुल, कलेजहरूमा अनिवार्य कोटाको व्यवस्था अबको एक महिनाभित्र गर्ने सहमति भएको छ । प्रभावित क्षेत्रका विद्यालयको भौतिक संरचना निर्माण गर्ने कार्यलाई प्राथमिकता दिने सहमति समेत भएको छ ।
फोहोर उत्सर्जन गर्ने नगरपालिकाहरूमा बन्चरे ल्यान्डफिल साइटका प्रभावितहरूलाई रोजगारीको अवसरका लागि मेयर्स फोरम वा मन्त्रालयबाट आह्वान हुने बैठकमा एजेन्डाको रुपमा प्रस्तुत गर्ने, महानगरले दुईवटा पालिकालाई दिँदै आएको तीन÷तीन करोड रकमलाई बढाएर छ/छ करोड पुर्याउनुका साथै अब आगामी आवमा थप गरी बेलकोटगढी नगरपालिकालाई समेत समावेश गर्न महानगरपालिकालाई अनुरोध गर्ने र फोहोर उत्सर्जन गर्ने अन्य नगरपालिकालाई समेत अनिवार्य योगदान गर्न सहरी विकास मन्त्रालयले अनुरोध गर्ने सहमति जुटेको छ ।
सिसडोल र कुडुले बन्चरे डाँडाको फोहोरको कारण हालसम्म विभिन्न रोग लागेर मृत्यु भएका परिवारलाई तत्काल उचित राहत दिन कार्यविधि तयार गर्ने, स्थानीयबाट फोहोरमैला ढुवानी र बिसर्जनमा भएको अवरोधलाई तत्काल हटाउने र सुचारु गर्ने तथा प्रस्तावित सहमतिका बुँदाहरूलगायत प्रभावित क्षेत्रको समस्या समाधानका लागि साथै खेलकुदलगायत भौतिक पूर्वाधारका विषयमा अनुगमन गर्न स्थानीय तहको सिफारिसमा धुनीबेसी नगरपालिका र ककनी गाउँपालिकाबाट तीन÷तीन जना र बेलकोटगढी नगरबाट एक जना प्रतिनिधि भएको कार्यदल गठन गर्ने तथा तीनपिप्ले कुमारी गल्छी सडकको निर्माण गर्ने कार्यका लागि चालू आर्थिक वर्षमा वहुवर्षीय गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने सहमति समेत भएको छ ।