किमाथांका । संखुवासभाको चैनपुर नगरपालिका ८ र ९ का जग्गाधनीले २३ वर्षपछि लालपुर्जा पाएका छन् । द्वन्द्वकालमा आगलागीमा नष्ट भएका अभिलेखका कारण २३ वर्षसम्म लालपुर्जाबाट वञ्चित चैनपुरका स्थानीयले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका हुन् ।
वि.सं २०५९ वैशाख १४ गते तत्कालीन माओवादी द्वन्द्वका बेला चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा भएको आगजनीका कारण क्षति हुँदा नापी कार्यालयमा रहेका सक्कल नक्सा र फिल्डबुक तथा मालपोत कार्यालयमा रहेका जग्गाधनी दर्ता स्रेस्ता (मोठ) लगायत महत्त्वपूर्ण कागजात पूर्ण रूपमा नष्ट भएका थिए । तत्कालीन बेला आगलागीमा नष्ट भएका चैनपुर ८ र ९ का एक हजार एक सय ९० जग्गाधनीले २३ वर्षपछि लालपुर्जा पाएका विशेष नापी कार्यालय चैनपुरका प्रमुख हरिशरण नेपालले जानकारी दिए । उनका अनुसार नापनक्सा सकिएका चैनपुर ९ का छ सय २७ र वडा नं ८ का पाँच सय ६३ जग्गाधनीले लालपुर्जा पाएका छन् । कागजात नभएकाले स्थानीयले लामो समयदेखि कानुनी झन्झट र सम्पत्ति प्रयोगमा समस्या झेल्दै आएका थिए । वि.सं २०७६ माघ १३ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार अभिलेख पुनःस्थापनाका लागि विशेष नापी कार्यालय स्थापना गरिएको थियो । हाल विशेष नापी कार्यालयले संखुवासभाका चैनपुर, पाँचखपन, मादी र धर्मदेवी नगरपालिकामा नापनक्सा तथा लालपुर्जा वितरणको काम गरिरहेको प्रमुख नेपालले जानकारी दिए । उनका अनुसार सीमित स्रोतसाधन र जनशक्तिका कारण चार पालिकाको २४ हजार हेक्टरमध्ये हालसम्म सात हजार पाँच सय हेक्टरको नापनक्सा सम्पन्न भइसकेको छ ।
कार्यालय प्रमुख नेपालले चैनपुर ५, ७, ८, ९, १० र ११ मा नापनक्सा सम्पन्न भइसकेको जनाउँदै नक्साका लागि संवेदनशीलता र प्रक्रियाका कारण चार पटकसम्म लाग्ने उल्लेख गरे । बसाइँसराइले जनसहभागिता कमी, नियन्त्रण विन्दु नभेटिने, पुरानो सफ्टवेयर, घाममा उपकरण बिग्रिरहनेलगायत कारणले नापनक्सा तथा लालपुर्जा वितरणमा केही ढिलाइ भएको कार्यालयले जनाएको छ ।