विराटनगर । स्वदेशमा नै युवाहरूलाई रोजगारीका नयाँ अवसर सिर्जना गर्न उद्योग संगठन मोरङ र एसओएस चिल्ड्रेन्स भिलेजका बीचमा सहकार्य हुने भएको छ ।
संगठनको सचिवालयमा आयोजित छलफल कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरूले सहकार्य गर्ने बताएका हुन् । हाल युवाहरूले अवसर नपाएर विदेशिन बाध्य हुने क्रम बढ्दै गएको अवस्थामा यस्तो साझेदारीले उनीहरूलाई प्रत्यक्ष रोजगारीका अवसरसँग जोड्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले संगठनले युवालाई रोजगारीसँग अभिमुख गराउन स्कूल–टू–वर्क कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिए । उनले संगठनले संचालन गरिसकेको स्टार्टअप एण्ड इनोभेसन, सीपमुख तालिम, सीप उत्सव जस्ता कार्यक्रम सफल भएको बताए । आगामी दिनमा युवामुखी कार्यक्रमहरूले उद्यमशीलता विकास, स्वरोजगार र रोजगारीका क्षेत्रमा नयाँ आयाम थप्ने उनको भनाइ छ ।
एसओएस नेपालका परियोजना निर्देशक डीसी चौधरीले एसओएसका गतिविधिहरू प्रस्तुत गर्दै उद्योगहरूमा योग्य, परिश्रमी र सीपयुक्त जनशक्तिको माग बढिरहेको जानकारी गराए । उनले वर्तमान अवस्थामा युवालाई स्वदेशमै अवसर सिर्जना गर्नु सबैको साझा दायित्व भएको बताए । साथै युवालाई सही मार्गदर्शन र अवसर प्रदान गर्नसके उनीहरू औद्योगिक विकासका महत्वपूर्ण ऊर्जा बन्न सक्ने उल्लेख गरे । कार्यक्रममा संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छा र विपिन कावराले निजी क्षेत्र र युवाबीचको सम्बन्धलाई बलियो र दिगो बनाउन निरन्तर संवाद र सहकार्य अत्यावश्यक रहेको जानकारी दिए । सो अवसरमा उद्योग संगठन मोरङका सदस्यदेखी एसओएसका प्रतिनिधि तथा युवाहरूको सहभागिता रहेको थियो ।