काठमाडौं । आयु इन्टरटेन्मेन्ट लिमिटेडले पर्यटकीय नगरी पोखरामा रहेको फिस्टेल ड्रिम पार्कको सर्वसाधारणलाई जारी पुँजीको २० प्रतिशतका दरले प्रति सेयर अंकित मूल्य एक सय रुपैयाँमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ३० लाख कित्ता सेयर निष्कासन गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
कम्पनीका अनुसार बुधवार नेपाल लाइफ क्यापिटल कमलपोखरी स्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा आयु इन्टरटेन्मेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष कदम के.सी. तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका हुन् ।
सारथी ग्रुप सहितको लगानी रहेको उक्त पार्कमा देशकै प्रतिष्ठित उद्यमी तथा पोखराका पर्यटन व्यवसायीहरुको लगानी रहेको छ । करिब ५७ रोपनी जग्गामा फैलिएको उक्त पार्क सबै उमेर समूहको लागि मनोरञ्जन लिने रमणीय पार्क हो । उक्त फिस्टेल ड्रिम पार्कमा वाटर पार्क, वेब पुल तथा साहसिक खेलहरु सहितको आनन्द लिन सकिने नेपालको हालसम्मकै सबैभन्दा ठूलो मनोरञ्जन पार्कको रुपमा रहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, सेयर रजिष्ट्रेसन र निष्कासन तथा बिक्री प्रबन्ध गर्ने अनुमति प्राप्त मर्चेन्ट बैंकिङ्ग संस्था हो ।