काठमाडौं । पद्मकन्या बहुमुखी क्याम्पसको ७५औं वर्षका अवसरमा शुक्रबार यहाँ आयोजित हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएको बताएका छन् ।
राष्ट्रपति पौडेलले भने, “यो निर्वाचन परिणामले सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ, यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई अपिल पनि गर्न चाहन्छु ।“
आज विषम परिस्थितिबाट देश गुज्रिएको हुँदा संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँंदै फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तय भएको उनले बताए ।
कुनै पनि मुलुकको विकासका लागि शिक्षाको योगदान महत्वपूर्ण रहेको भन्दै राष्ट्रपति पौडेलले नेपालमा नारीहरूको शैक्षिक उन्नयनमा पद्मकन्याको विशेष योगदान रहेको बताए । उनले भने, “राणा शासनको अन्त्य भएर प्रजातन्त्रको बिहानीसँगै शिक्षामा सर्वसाधारणको भर्खर पहुँच पुग्न लागेका बेला नेपाली नारीहरूका लागि उच्च शिक्षाको ढोका पद्मकन्याले नै खोलेको हो, त्यस्तो जटिल परिस्थितिमा उच्च शिक्षा प्रदान गर्ने मूल उद्देश्यका साथ स्थापना भएको पद्मकन्या क्याम्पस नारी शिक्षाको पर्यायका रुपमा छ” ।
गुणस्तरीय शिक्षाका लागि महिला सशक्तीकरण भन्ने मूल उद्देश्यले स्थापित पद्मकन्या बहुमुखी क्याम्पसलाई महिला विश्वविद्यालयका रूपमा स्तरोन्नति गर्नका लागि भएको पहलप्रति प्रसन्नता प्रकट गर्दै राष्ट्रपति पौडेलले यसको सफलताको लागि शुभकामना व्यक्त गरे ।