चितवन । शनिबार राति बा १८ च ८९७३ नं को बलेरो दुर्घटनामा परी मृत्यु भएका ६२ वर्षीय समाजसेवी राममणि न्यौपानेको आइतबार अन्त्येष्टि गरिएको छ । कालिका नगरपालिका–११ सिद्धिकल्याण चौरस्थित भित्री सडकमा दुर्घटना हुँदा उनको मृत्यु भएको थियो ।
घाइते न्यौपानेको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । कङ्काली सामुदायिक वनका पूर्वअध्यक्ष एवं संरक्षण क्षेत्रमा क्रियाशील न्यौपाने आफैँले चलाएको बोलेरो सडकदेखि करिब १५० मिटर तल खसेको थियो । न्यौपाने खैरहनी नगरपालिका–४ का निवासी हुन् । हिन्दू परम्पराअनुसार न्यौपानेको आज आइतबार तीर्थस्थल देवघाटमा दाहासंस्कार गरिएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।
नेपाली कांग्रेसका स्थानीय नेतासमेत रहेका न्यौपानेको खैरहनी नगरपालिकालाई पर्यटकीय क्षेत्र बनाउन महत्वपूर्ण योगदान रहेको छ । प्रदेशसभा सदस्यमा वागी उम्मेद्वार रहनुका साथै उनी रोटरी, रेड्क्रससँगै विभिन्न सामाजिक सङ्घ संस्थामा क्रियाशील रहेका थिए ।