मोरङ,मोरङको विराटनगरमा नेकपा एमाले निकट युवा संघका नेता महेश बस्नेत सवार गाडीमा रातो मसी छ्याप्ने दुई जना नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) सम्बद्ध विद्यार्थी पक्राउ परेका छन्। आज बिहान एयरपोर्ट लाइनतर्फबाट सुनसरी जाने क्रममा बस्नेत सवार गाडीलाई सडक किनाराबाट आएका युवाहरूले मसी फ्याँकेका थिए।
मसी छ्यापिएपछि बस्नेत सवार गाडी तत्काल रोकिएको थियो। त्यसपछि घटनास्थलमै रहेका सुरक्षाकर्मीले दुई जना युवालाई नियन्त्रणमा लिए। पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय सन्जोग गौतम छन्। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका सन्जोग गौतम नेविसंघ मोरङका जिल्ला सदस्य समेत हुन्। उनी संस्थापनइतर समूह नजिक मानिन्छन्। उनलाई डा. शेखर कोइराला समूहले महेन्द्र मोरङ क्याम्पस नेविसंघ इकाइ सभापति बनाएको थियो। क्याम्पसमा नेविसंघ संस्थापन समूहका सभापति प्रशान्त यादव रहेका छन्।
त्यस्तै, अर्पित कुँवर पनि नेविसंघ निकट नै रहेको प्रहरीले जनाएको छ।
घटनापछि नेता बस्नेतले आफू सहभागी हुन लागेको कोशी प्रदेशस्तरीय भेलाको कार्यक्रम अवरुद्ध गर्न खोजिएको भन्दै यसलाई लोकतन्त्रमाथिको उपहास भनेका छन्। बस्नेत सुनसरीको इटहरी पुगेपछि जेन–जी समूहले दुहबी क्षेत्रमा पनि प्रदर्शन गरेका छन्।