काठमाडौँ, दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज दुई रोमाञ्चक खेलहरू हुने छन्। पहिलो खेलमा बिहान पौने १२ बजे साविक विजेता जनकपुर बोल्ट्स र दमदार प्रदर्शन गरिरहेको विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेल अपरान्ह ४ बजे साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्नेछन्। अनिल साहको कप्तानीमा रहेको जनकपुर पहिलो खेलमै काठमाडौँ गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो। उपाधि दाबेदारी कायम राख्न जनकपुरलाई आज विराटनगरविरुद्ध सम्भावित पुनरागमनको ठूलो चुनौती छ। सन्दीप लामिछाने कप्तानीमा रहेको विराटनगर लगातार तेस्रो जितको खोजीमा छ। उसले यसअघि पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज दुवैलाई पराजित गरिसकेको छ। गत संस्करणमा यी दुईबीचको उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई ८ विकेटले हराएको थियो। आज विराटनगर त्यस पराजयको बदला लिने मनस्थितिमा छ। दोस्रो खेलमा दिपेन्द्र सिंह ऐरी नेतृत्वको सुदूरपश्चिम र सोमपाल कामी कप्तानीको कर्णाली आमनेसामने हुनेछन्। गत वर्ष उत्कृष्ट प्रदर्शन गरे पनि फाइनलमा स्तब्ध बनेको सुदूरपश्चिम यस पटक उपाधिमा नजर गाडेर खेलेको छ। कर्णालीले पहिलो खेलमा चितवनसँग हार बेहेरे पनि दोस्रो खेलमा लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गर्दै उत्कृष्ट पुनरागमन गरिसकेको छ। उक्त खेलमा मार्क वाटले प्रचण्ड शतक प्रहार गर्दै कर्णालीलाई शानदार जित दिलाएका थिए। गत संस्करण रनरेटमा पिछडिएर प्लेअफ पुगेको कर्णाली यसपटक सहज यात्राको खोजीमा छ। गत वर्ष सुदूरपश्चिमसँग ६ विकेटले पराजित कर्णाली आज त्यो हार दोहोरिन नदिने दृढतामा रहेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा मङ्सिर १ गतेबाट सुरु भएको एनपिएल मङ्सिर २७ गते सम्पन्न हुनेछ।