काठमाडौं । २३ भदौमा जेन–जी पुस्ताको अगुवाइमा भएको शान्तिपूर्ण आन्दोलन र भोलिपल्ट भएको विध्वंसको बाबजुद यसको असर निर्यात व्यापारमा देखिएको छैन । भन्सार विभागले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुरूप निर्यात व्यापार ७८ प्रतिशतले बढेको हो ।
चालू आवको चार महिनामा ९३ अर्ब ४९ करोड ५७ लाखबराबरको निर्यात भएको हो । अघिल्लो आवको सोही अवधिमा निर्यात ५२ अर्ब ६७ करोड सात लाखबराबरको थियो । जेन–जी आन्दोलनले उत्पादनमूलकलगायत औद्योगिक क्षेत्रभन्दा पनि बढी व्यावसायिक क्षेत्रमा क्षति पुर्याइएको कारण निर्यात व्यापार प्रभावित हुन नसकेको विभागले जनाएको छ ।
आन्दोलनको नाममा भएको विध्वंसपछिको क्षतिको विवरण सरकारले सार्वजनिक नगरेको अवस्थामा र वैदेशिक व्यापारको तथ्यांक्लाई हेर्दा औद्योगिक क्षेत्रमा असर नपुगेको देखिएको विभागका अधिकारीहरूले बताए । औद्योगिक क्षेत्र तथा निर्यात ढुवानीमा समस्या भएको भए निर्यात व्यापारमा सुधार देखिँदैन थियो अर्थात् आन्दोलनको असर आगामी दिनहरूमा देखिन पनि सक्ने विभागका अधिकारीहरूको भनाइ छ ।
विभागको तथ्यांक हेर्दा निर्यात व्यापारमा पनि आयातित कच्चापदार्थमा निर्भर रहेको पाइन्छ । भटमास, सूर्यमुखी दाना, फलफूललगायतका सामग्री आयतित रहेको पाइन्छ । समीक्षा अवधिमा सबैभन्दा धेरै रकमको भटमासको तेल, अलेंची, गलैँचा र सूर्यमूखी तेललगायतका सामग्री निर्यात भएको छ । चार महिनाको अवधिमा भटमासको तेल ३८ अर्ब ४३ करोड तीन लाख, अलैंची तीन अर्ब ९७ करोड ४३ लाख, गलैँचा तीन अर्ब २६ करोड ४० लाख र सूर्यमूखी तेल दुई अर्ब ७३ करोड २८ लाखबराबरको निर्यात गरिएको छ ।
सोही अवधिमा जुटजन्य सामग्री दुई अर्ब १५ करोड २४ लाख, पाम तेल दुई अर्ब छ करोड ५० लाख, यार्न एक अर्ब ७६ करोड ३६ लाख र जुस एक अर्ब ५४ करोड ९० लाखबराबरको निर्यात गरिएको छ । पस्मिनाको सल एक अर्ब ४१ करोड ३३ लाख, चिया एक अर्ब ३८ करोड ३४ लाख र कुकुर र बिरालोको आहारा एक अर्ब तीन करोड ५७ लाखबराबरको निर्यात गरिएको छ ।
आयात र वैदेशिक व्यापार कति ?
निर्यात व्यापार मात्र नभई चार महिनाको अवधिमा आयात र वैदेशिक व्यापार समेत बढेको छ । चार महिनाको अवधिमा आयात व्यापार १८ दशमलव ७१ प्रतिशतले बढेको छ । चालू आवको चार महिनाको अवधिमा छ खर्ब नौ अर्ब ४५ करोड आयात व्यापार हुँदा गत आवको सोही अवधिमा पाँच खर्ब १३ अर्ब ३८ करोडबराबर आयात व्यापार रहेको छ ।
समीक्षा अवधिमा सबैभन्दा धेरै मूल्यबराबरको भटमास, पेट्रोलियम पदार्थ, मोबाइल र सुनलगायतका सामग्री आयात गरिएको छ । चालू आवको चार महिनामा भटमास ३७ अर्ब ९६ करोड ४२ लाख, डिजेल ३१ अर्ब ८९ करोड १५ लाख, पेट्रोल २२ अर्ब ३७ करोड २७ लाख र खाना पकाउने एलपीजी ग्यास १८ अर्ब आठ करोड ३६ लाखबराबरको अयात गरिएको छ । सोही अवधिमा फलामजन्य सामग्री १७ अर्ब पाँच करोड २९ लाख, मोबाइल १६ अर्ब १५ करोड १८ लाख, सुन १५ अर्ब ७२ करोड ११ लाख, रासायनिनक मल सात अर्ब ४९ करोड ७९ लाखबराबरको आयात गरिएको छ ।
निर्यात र आयात दुवै व्यापारमा वृद्धि हुँदा वैदेशिक व्यापार बढेको छ । समीक्षा अवधिमा वैदेशिक २४ दशमलव १८ प्रतिशतले बढेको छ । चालू आवको चार महिनामा सात खर्ब दुई अर्ब ९४ करोड ७० लाख रहेको वैदेशिक व्यापार गत आवको सोही अवधिमा पाँच खर्ब ६६ अर्ब पाँच करोड ८७ लाख रहेको छ । वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३ प्रतिशत र आयातको हिस्सा भने ८७ प्रतिशत रहेको छ । न्यून निर्यात र उच्च आयातका कारण व्यापार घाटा समेत बढेको छ । समिक्षा अवधिमा निर्यात व्यापार १२ प्रतिशतले बढेको छ । चालू आवको चार महिनामा पाँच खर्ब १५ अर्ब ९५ करोड ५४ लाख व्यापार घाटा रहेकोमा गत आवको सोही अवधिमा चार खर्ब ६० अर्ब ७१ करोड ७३ लाख रहेको छ । उच्च अयात र न्यून निर्यातका कारण व्यापार घाटा बढेको छ ।
व्यापारघाटा न्यून गर्न आयातलाई प्रतिस्थापन गर्ने वस्तुहरूको उत्पादनमा जोड दिनुका साथै निर्यात सम्भाव्य वस्तुहरूको खोजी गरी त्यस्ता वस्तुहरूको उत्पादनमा वृद्धि गर्नु जरुरी रहेको छ । सरकारले आयतालाई प्रतिस्थापन गर्ने नीति तथा कार्यक्रम बनाउन नसक्दा व्यापार घाटा निरन्तर बढेको जानकारहरू बताउछन् । निर्यात बढाउन उत्पादन बढाउनु पर्दछ भने उत्पादन बढाउन उद्योगधन्दाहरूको सङ्ख्या र आकार दुवै बढाउनु आवश्यक रहेको उद्योगीहरू बताउछन् । मुलुक औद्योगीकरणको बाटोमा लम्किन सक्नुपर्ने उद्योगीहरूको भनाइ छ ।
आयात प्रतिस्थापन र निर्यात प्रोत्साहनको नीति सुन्दा सामान्यजस्तो लागे पनि नेपाली अर्थतन्त्रका लागि यो नै उपर्युक्त विकल्प हुन व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक सुमन रेग्मी बताउँछन् । विद्युत्, गोबर ग्यास, ब्रिकेट आदिको उत्पादनमा जोड दिई पेट्रोलियम पद्धार्थको आयातलाई प्रतिस्थापन गर्न सकिन्छ । त्यसैगरी औषधि, सिमेन्ट, धागो, टायर–ट्युब, तयारी पोसाक, लत्ता–कपडा, कच्चा ऊन आदिको उत्पादनले पनि आयातलाई प्रतिस्थापन गर्न सक्छ । कृषि तथा वन, धातुजन्य खनिज पद्धार्थ, बहुमूल्य पत्थर, जलविद्युत्, पश्मिना, कार्पेट, गार्मेन्ट आदिको उत्पादन बढाएर निर्यात बढाउन सकिने सम्भावना पनि उत्तिकै बलियो रहेको उनको भनाइ छ ।
सरकारले व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना २०७९ तयार गरे पनि त्यसलाई कार्यान्वयन गर्न सकेको छैन । कार्ययोजनाको उद्देश्य नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायहरूको एकीकृत तथा समन्वयात्मक प्रयासद्वारा बढ्दै गएको व्यापार घाटालाई कम गर्नु यस कार्ययोजनाको प्रमुख उद्देश्य रहेको थियो । यसको अतिरिक्त अन्य उद्देश्य तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमताका वस्तु तथा सेवाको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नु, वस्तु तथा बजारको विविधीकरण गरी नेपाली वस्तुको निर्यात प्रवद्र्धन गर्नु, कृषि तथा औद्योगिक वस्तुको उत्पादन तथा उपभोगमा वृद्धि गर्नु, विभिन्न निकायहरूबीच प्रभावकारी समन्वय स्थापित गरी स्वदेशी तथा वैदेशिक लगानी र उत्पादन वृद्धि गर्नु र स्वदेशी उत्पादनको गुणस्तर सुधार गर्नुलगायतका विषयहरू समावेश गरिएको थियो ।