काठमाडौं । नेसनल फन्ड म्यानेजमेन्ट लिमिटेडले साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरिने एक सय रुपैयाँ अंकित दरका २१ लाख छ हजार कित्ताले हुन आउने २१ करोड छ लाख रुपैयाँ रकम बराबरको २० प्रतिशत साधारण सेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे हो ।
उक्त सेयर निष्काशनका लागि नेसनल फन्ड म्यानेजमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई तथा सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच आइतबार द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण सेयर निष्कासन गरिने सम्झौता भएको छ । नेसनल फन्ड म्यानेजमेन्ट लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम प्राइभेट इक्वीटी फन्ड, भेन्चर क्यापिटल फन्ड, हेज फन्डको कोष व्यवस्थापक भइ संचालन गर्न इजाजत प्राप्त गरेको छ । साथैे बुक बिल्डिङ्ग विधि मार्फत निष्काशित धितोपत्रको लागि योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्नका लागि स्वीकृति समेत प्राप्त गरेको छ ।
यस कम्पनी कोष व्यवस्थापक रहि पुँजी संकलन कार्य सम्पन्न गरी विविधिकृत प्राइभेट इक्वीटी फन्डको रुपमा ’नेसनल इक्वीटि फन्ड–१’ र ऊर्जा क्षेत्र लक्षित प्राइभेट इक्वीटी फन्डको रुपमा ’नेसनल हाइड्रो फन्ड–२’ संचालन गर्दै आएकोे छ । क्रेडिट रेटिङ्ग संस्थाद्वारा केयर एनपी बीबीबी रेटिङ्ग प्राप्त यस नेसनल फन्ड म्यानेजमेन्ट लिमिटेडमा सरकारी संस्थाहरूको करिब २७ प्रतिशत लगानी रहेको, विभिन्न बैँक, वित्तिय संस्था एवम् एन.आर.एन. हरूको लगानी रही विगत तीन वर्षदेखि लाभांश वितरण गर्दै आएको छ ।