काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ (युरो ६) लागू हुने सवारीसाधनहरूको मंसिर १५ अगावै भन्सार प्रक्रियाहरू पूरा गर्न आग्रह गरेको छ ।
नाडाका महासचिव सुरेन्द्र उप्रेतीले आइतबार एक विज्ञप्ति जारी गरी सरकारले हालै लागू गरेको नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ (युरो ६) सम्बन्धमा सदस्य व्यवसायीलाई तोकिएको समयसीमाभित्र भन्सार प्रक्रियाहरू पूरा गर्न आग्रह गरेको हो । वन तथा वातावरण मन्त्रालयले २०८२ असार ९ गते नेपाल राजपत्रमार्फत सवारी प्रदूषण मापदण्ड २०८२ लागू गरेको थियो । अर्थ मन्त्रालयले २०८२ असोज १० गते प्रकाशित राजपत्रमार्फत विशेष सहुलियत व्यवस्था गरेको नाडाले जानकारी दिएको छ ।
सरकारी प्रावधानअनुसार, मापदण्ड लागू हुनुभन्दा पहिले ‘प्रोफर्मा इन्भ्वाइस’ जारी भइसकेका सवारीसाधन साथै नेपालमा एसेम्बल/उत्पादन हुने तथा आवश्यक पार्टपुर्जा आयात भइसकेका सवारीसाधनहरूलाई २०८२ मंसिर १५ गतेसम्म पुरानै मापदण्डअनुसार आयात तथा भन्सार जाँचपास गर्न अनुमति दिइनेछ । यस सन्दर्भमा नाडाले सदस्यहरूलाई तोकिएको अवधिभित्र बाँकी रहेका सबै सवारीसाधनको भन्सार जाँचपास कार्य तत्काल सम्पन्न गर्न अनुरोध गरेको हो ।
नाडाले वन तथा वातावरण मन्त्रालय तथा अर्थ मन्त्रालयसँग निरन्तर पत्राचार गर्दै उक्त सहुलियत व्यवस्थाको कार्यान्वयनका लागि आवश्यक पहल गरेको जानकारी दिएको छ ।