काठमाडौं । सरकारले विद्युतीय सवारीसाधन आयातबाट चार महिनामा दुई अर्ब ५५ करोड १३ लाख ६५ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि कात्तिकसम्मको तथ्यांकअनुसार विद्युतीय सवारीसाधन आयातबाट उक्त राजस्व संकलन भएको हो ।
तथ्यांकअनुसार गत साउनदेखि कात्तिकसम्म विभिन्न देशहरू चीन, भारत, थाइल्यान्ड, कोरिया, बेलायत, अमेरिकासहितका देशबाट ईभी भित्रिएका हुन् । यसअनुसार चीनबाट २१ करोड ६३ लाख ३९ हजार रुपैयाँका ४८ वटा विद्युतीय मिनीबस नेपाल ल्याइएका छन् । जसबाट सरकारले तीन करोड ६७ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी चीनबाटै ५९ करोड ९७ लाख १७ हजारका दुई सय १३ वटा माइक्रो बस भित्रिँदा सरकारलाई १५ करोड ८५ लाख ७१ हजार रुपैयाँ राजस्व आएको छ । चीनबाट जिप कार भ्यानतर्फ २४ वटा सवारीसाधन भित्रिएका छन् । छ करोड १२ लाख ६४ हजारका यी सवारीसाधनबाट सरकारले दुई करोड ६५ लाख नौ हजार राजस्व पाएको विभागले जनाएको छ ।
चीनबाटै अनअसेम्बल्ड विद्युतीय तीनपांग्रे तीन हजार चार सय ८५ वटा भित्रिएको देखिएको छ । ३५ करोड ७४ लाख ११ हजारका यी तीनपांग्रे आयातबाट सरकारले १२ करोड ३९ लाख ९९ हजार राजस्व संकलन गरेको छ । अनअसेम्बल्ड विद्युतीय तीनपांग्रे सोही अवधिमा भारतबाट ८५ वटा भित्रिएका छन् । एक करोड १६ लाख ८९ हजारका यी साधन भित्रिँदा सरकारले ३८ लाख राजस्व संकलन गरेको छ ।
चीनबाट विद्युतीय जिप, कार, भ्यान (५० किलोवाटसम्म) एक अर्ब नौ करोड ७६ लाख ९५ हजार मूल्यका छ सय ६० वटा सवारीसाधन भित्रिएबापत ४७ करोड २१ लाख ५६ हजार राजस्व सरकारलाई प्राप्त भएको छ । यता ५० किलोवाटसम्म भारतबाट यस्ता तीन सय ४२ वटा सवारीसाधन भित्रिएका छन् । ५९ करोड २२ लाख ९८ हजारका यी साधन आयात हुँदा सरकारले २५ करोड ६१ लाख ३२ हजार राजस्व पाएको छ ।
५१ किलोवाटदेखि एक सय किलोवाटसम्म चीनबाट तीन अर्ब ३० करोड ६१ लाख ८३ हजारका एक हजार दुई सय ६७ वटा भित्रिएका छन् । जसबाट दुई अर्ब नौ करोड ६७ लाख ६२ हजार राजस्व प्राप्त भएको छ । ५१ किलोवाटदेखि एक सय किलोवाटसम्म भारतबाट दुई सय ७६ वटा ६५ करोड ११ लाख ८० हजारका सवारीसाधन भित्रिएका छन् । यसबाट ४१ करोड ५० लाख ४५ हजार राजस्व प्राप्त हुँदा ५१ किलोवाटदेखि १०० किलोवाटसम्म थाइल्यान्डबाट दुई सय ८२ वटा भित्रिएका छन् । ७८ करोड ४५ लाख ६६ हजारका यी साधनबाट ५० करोड ५९ हजार रुपैयाँ आयात राजस्व संकलन भएको छ ।
यसबाहेक ५१ किलोवाटदेखि १०० किलोवाटसम्म बेलायतबाट एउटा ४९ लाख ८८ हजार भित्रिएको छ । जसबाट सरकारले ३१ लाख ७९ हजार राजस्व संकलन भएको छ । १०१ किलोवाटदेखि २०० किलोवाटसम्म चीनबाट ३४९ वटा सवारीसाधन भित्रिएको छ । ९८ करोड २० लाख १७ हजारका यी साधनबाट ८३ करोड ५६ लाख ४० हजार राजस्व संकलन भएको छ ।
१०१ किलोवाटदेखि २०० किलोवाटसम्म जर्मनीबाट पाँचवटा ईभी भित्रिएको विभागले जनाएको छ । तीन करोड ७५ लाख ४८ हजारका यी साधनबाट तीन करोड १९ लाख ५१ हजार राजस्व आएको छ । त्यसैगरी १०१ किलोवाटदेखि २०० किलोवाटसम्म भारतबाट आठवटा भित्रिएको छ । दुई करोड ७९ लाख २५ हजारका यी साधनबाट पनि दुई करोड दुई लाख ७९ हजार राजस्व संकलन भएको छ ।
१०१ किलोवाटदेखि २०० किलोवाटसम्म कोरियाबाट दुईवटा एक करोड ५७ लाख २५ हजारका साधन भित्रिँदा एक करोड ३३ लाख ८१ हजार रुपैयाँ संकलन भएको विभागले उल्लेख गरेको छ । यसबाहेक १०१ किलोवाटदेखि २०० किलोवाटसम्म अमेरिकाबाट १० वटा ४ करोड ३२ लाख ७८ हजारका सवारीसाधन भित्रिएका छन् । जसबाट तीन करोड ६८ लाख २७ हजार रुपैयाँ राजस्व थपिएको छ । २०१ किलोवाटदेखि माथिका अमेरिकाबाट एउटा ४८ लाख ४९ हजारको सवारीसाधन भित्रिँदा ७५ लाख ७९ हजार रुपैयाँ राजस्व आएको छ ।