काठमाडौं । सरकारी लगानी रहेको धेरैजसो संस्थानहरू घाटामा देखिएका छन् । आव २०८०/८१ सम्म सरकारको पूर्ण वा आंशिक स्वामित्वमा ४५ वटा सार्वजनिक संस्थानहरू सञ्चालनमा छन् । तीमध्ये १० औद्योगिक क्षेत्र, पाँच जनपयोगी क्षेत्र, चार व्यापारिक क्षेत्र, १० वित्तीय क्षेत्र, पाँच सामाजिक क्षेत्र र ११ सेवा क्षेत्रतर्फ रहेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२को वार्षिक प्रतिवेदनअनुसार अस्तित्वमा रहेका संस्थानहरूको वित्तीय स्थिति आव २०८०/८१ सम्ममा २८ वटा संस्थानहरू नाफामा र १५ संस्थानहरू नोक्सानीमा छन् । दुईवटा संस्थानको विवरण नै प्राप्त भएको छैन भने नाफामा सञ्चालित २८ संस्थानहरूको खुद नाफा पनि ११ दशमलव ५० प्रतिशतले घटेको छ ।
यस्तोमा नोक्सानीमा सञ्चालित १५ संस्थानको खुद नोक्सानी आठ दशमलव ६५ प्रतिशतले बढेको देखिएको छ । प्रतिवेदनअनुसार २०७९/८०मा संस्थानहरूको खुद नाफा ४८ अर्ब ९२ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८०/८१मा यस्तो नाफा १२ दशमलव ८८ प्रतिशतले घटेर ४२ अर्ब ६२ करोड कायम भएको छ । यस्तो नाफाअन्तर्गत नेपाल आयल निगमले नौ अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा कमाउँदा नेपाल दूरसञ्चार कम्पनीले छ अर्ब २३ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । नेपाल विद्युत् प्राधिकरणले पनि उक्त अवधिमा १० अर्ब ५३ करोड रुपैयाँ खुद मुनाफा कमाउँदा कृषि विकास बैंकले दुई अर्ब ९० करोड रुपैयाँ खुद मुनाफा कमाएको छ ।
यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा कमाउँदा नेपाल बैंकले दुई करोड ८४ लाख रुपैयाँ मात्र खुद मुनाफा कमाएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोष भने यस अवधिमा चार अर्ब ६५ करोड रुपैयाँ खुद मुनाफा कमाउँदा नागरिक लगानी कोषले एक अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भने यस अवधिमा तीन अर्ब ३९ करोड रुपैयाँ खुद मुनाफा कमाउँदा अन्य केही संस्थानहरू खुद नाफामा रहेका छन् ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानहरूको कुल सेयरधनी कोष एवं नेपाल सरकारको सेयर तथा ऋण लगानी समेत बढेको छ । सरकारको सेयर तथा ऋण लगानी अघिल्लो वर्षको तुलनामा पाँच दशमलव नौ प्रतिशतले बढेको हो । सार्वजनिक संस्थानहरूबाट आर्थिक वर्ष २०७९/८० मा सरकारलाई १३ अर्ब ७६ करोड लाभांश प्राप्त भएकोमा आर्थिक वर्ष २०८०/८१ मा आठ अर्ब ८४ करोड लाभांश प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । यो सरकारी सेयर लगानीको दुई दशमलव ४२ प्रतिशत हुन आउँछ । समीक्षा वर्षमा नेपाल दूर सञ्चार कम्पनीबाट छ अर्ब ५९ करोड, राष्ट्रिय वाणिज्य बैंक बाट ८५ करोड ९८ लाख, नेपाल स्टक एक्स्चेन्जबाट ३७ करोड ५४ लाख रुपैयाँ सरकारलाई लाभांश प्राप्त भएको छ । आर्थिक वर्ष २०८०/८१मा सार्वजनिक संस्थानहरूको खुद सञ्चित नाफा ४१ प्रतिशतले बढेर ९२ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।
प्रतिवेदनअनुसार अघिल्लो वर्ष यस्तो नाफा ६५ अर्ब ७५ करोड रहेको थियो । सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीहरूलाई सेवा निवृत्त भएपछि उपदान, निवृत्तभरण, औषधि उपचार, बीमा, बिदाको रकमजस्ता विभिन्न शीर्षकहरूबाट दिइने सुविधाको कारण हरेक संस्थानको कोषमा व्यवस्था नगरिएको दायित्वको अंश आर्थिक वर्ष २०८०/८१ मा १८ दशमलव चार प्रतिशतले बढेर ६२ अर्ब ६१ करोड रहेको छ । अघिल्लो वर्ष यस्तो दायित्व ५२ अर्ब ८७ करोड रुपैयाँ मात्र रहेको प्रतिवेदनमा उल्लेख छ ।