काठमाडौं । नसर्ने रोगबाट पीडित भएकाहरुमा आँखामा बढी समस्या हुने गरेको पाइएको छ । तिलगङ्गा आँखा प्रतिष्ठानले करिब पाँच हजारलाई समेटेर गरेको काठमाडौँ केन्द्रित आँखा अध्ययनले नसर्ने रोग भएकामा आँखाको समस्या बढी पाइएको देखाएको हो ।
उक्त अध्ययनको सोमबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको थियो । अध्ययनले हाइपरटेन्सन र मधुमेह भएकामा आँखाको समस्या रहेकामा उच्च रक्तचाप भएका सहभागीहरूमध्ये एक प्रतिशतमा ‘हाइपरटेन्सिभ रेटिनोप्याथी’ थियो भने मधुमेह भएकाहरूमध्ये सात दशमलव तीन प्रतिशतमा ‘डायबेटिक रेटिनोप्याथी’ पाइएको छ । रेटिनोप्याथी भन्नाले आँखाको रेटिनामा देखिने समस्या हो, यसले अन्धोपना पनि निम्त्याउन सक्छ । अध्ययनले सन् २०२२ देखि २०२४ सम्म काठमाडौँ जिल्लामा ४० वर्षभन्दा माथिका व्यक्तिहरूमा देखिने आँखाका रोगहरू, जोखिम कारकहरू, सेवासुविधामा रहेको पहुँच, जनचेतना तथा आँखादानप्रति जनमानसको धारणा जस्ता विषयहरूमा महत्वपूर्ण तथ्यहरू सार्वजनिक गरेको हो ।
‘एन एपेडिमियोलोजिकल स्टडी अफ ओकुलर डिजिज इन काठमाडौँ डिस्ट्रिक्ट अफ नेपाल काठमाडौँ आइ स्टडी’ नामक अध्ययनमा चार हजार ९० जना सहभागी थिए । सहभागीहरूमध्ये ९७.७ प्रतिशत कुनै न कुनै प्रकारको आँखा रोगबाट पीडित रहेको पाइएको थियो । अध्ययनले मोतियाविन्दु र दृष्टि दोष दृष्टिविहीनता र अन्धोपनका प्रमुख कारणहरू रहेको देखाएको छ । यसमा ४१.७ प्रतिशत अन्धोपन मोतियाविन्दुका कारण थियो र लगभग ८० प्रतिशत दृष्टिविहीनता दृष्टिदोषका कारण थियो ।