रियाद । साउदी अरबले केही विदेशी बासिन्दाहरूको लागि रक्सी खरिदमा प्रतिबन्धहरू खुकुलो पारेको छ । साउदी अरबमा कार्यरत विदेशी कूटनीतिज्ञ र प्रिमियम भिसाधारकहरूले भने, ‘सरकारले हालैका दिनहरूमा रक्सी बिक्रीको बारेमा कुनै बयान नदिएको भए पनि स्रोतका अनुसार तथाकथित प्रिमियम आवासीय दर्जा भएका गैर–मुस्लिम व्यक्तिहरूले अब रियादमा रहेको देशको एकमात्र मदिरा पसलमा रक्सी किन्न पाउनेछन् । यो यस पहिले कूटनीतिज्ञहरूका लागि मात्र खुला रहने गरेको थियो ।’
एएफपीले कुरा गरेका चार व्यक्तिहरूले नाम नबताउने शर्तमा (साउदी अरबको कडा कानुनका कारण सरकारले घोषणा नगरेको कुरा सार्वजनिक गर्दा समस्या हुने भएकोले) नियमहरू परिवर्तन भएको बताए । उनीहरू कूटनीतिक स्रोत र प्रिमियम भिसा स्थिति दुबै भएका केही बासिन्दाहरू थिए ।
‘मैले यसको बारेमा साथीहरूबाट सुनेको थिएँ । मैले पनि खरीदका लागि प्रयास गरे । म दुई दिनअघि त्यहाँ गएको थिएँ र मेरा लागि खरिद खुला थियो’, नाम नबताउने सर्तमा एक प्रिमियम भिसाधारकले भने, ‘यसले मलाई कालो बजारबाट किन्नुको सट्टा धेरै पैसा बचायो। मूल्यहरू उचित छन् र हामी अन्ततः साउदी अरबमा रक्सी किन्न सक्ने भएका छौँ ।’
एएफपीले रिपोर्टमा टिप्पणीको लागि साउदी अधिकारीहरूसँग सम्पर्क गरेको थियो तर उनीहरूले समाचार प्रकाशित हुने बेलासम्म कुनै प्रतिक्रिया दिएका छैनन् । सन् २०१९ मा सुरु गरिएको साउदी अरबमा प्रिमियम रेजिडेन्टको स्थिति विदेशीहरूको चयन समूहको लागि उपलब्ध छ । यसका लागि एक पटकका लागि आठ लाख रियाल रियाल (झण्डै दुई लाख १३ हजार अमेरिकी डलर) को एक पटक भुक्तानी आवश्यक पर्छ ।