आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी स्वरूप नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया पूरा गरेको छ। सोमबार आयोग पुगेका निर्वाचन विभाग प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन बुझाएका हुन्।
दल दर्तापछि विभाग प्रमुख आचार्यले एमाले सबै प्रकारका निर्वाचनका लागि कानुनी प्रक्रिया पालना गर्ने दल भएको बताउँदै, “चुनाव जब–जब भए पनि हामी तयार छौँ,” भन्ने प्रतिक्रिया दिए। उनले यही तयारीअनुसार निर्वाचन प्रयोजनका लागि दर्ता गराइएको स्पष्ट पारे।
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि मंसिर १० गतेसम्म दर्ता गर्ने समय दिएको छ। सोमबारसम्म ६४ राजनीतिक दलले दर्ता गराइसकेका छन्। आयोगका अनुसार एमाले ६६ नम्बरमा दर्ता भएको छ।
हालसम्म आयोगमा दर्ता राजनीतिक दलहरूको संख्या १३५ पुगेको छ। तीमध्ये निर्वाचन प्रयोजनका लागि दर्ता गराउने दलहरूलाई मात्र आगामी प्रतिनिधि सभा निर्वाचनमा सहभागिता हुने अधिकार रहनेछ।