काठमाडौं । आर्टुडियोले अनसिन नामक पप–अप प्रदर्शनीको उद्घाटनसँगै नकबाहिल, पाटनमा आफ्नो नयाँ पाटन विंगको शुभारम्भ गरेको छ ।
२१ नोभेम्बरबाट सुरु भएको प्रदर्शनीमा अटिजम भएका २१ जना युवाहरूले सिर्जना गरेका कलाकृतिहरू प्रस्तुत गरिएका छन् । आर्टुडियोका संस्थापक कैलाश के. श्रेष्ठद्वारा क्युरेट गरिएको यो प्रदर्शनीले आर्टुडियोको समावेशिता र समुदायकेन्द्रित सृजनात्मक अभ्यासप्रतिको प्रतिबद्धता दर्शाएको छ । आकार फाउन्डेसनको सहकार्यमा आर्टुडियो र अटिज्म केयर नेपाल सोसाइटीमा सञ्चालन गरिएका कार्यशालाहरूको परिणामस्वरूप अनसिनको जन्म भएको हो । यहाँ प्रस्तुत भएका कलाकृतिहरू भरोसा, खोज–अनुसन्धान, धैर्य र सहज प्रयोग–अनुभवबाट सिर्जना भएका हुन् ।
प्रत्येक कलाकृतिले सहभागी कलाकारहरूको व्यक्तिगत संसारको झल्को दिन्छ जहाँ उनीहरूले देखेका मौलिक अनुभूति र दृष्टिकोणहरू रेखा, स्पर्श, रंग, अमूर्त आकार, लय र दृश्य संरचनाहरूमार्फत प्रस्तुत भएका छन् । प्रदर्शनीले दर्शकहरूलाई सुस्तरी अवलोकन गर्न, संवेदनशीलतापूर्वक नियाल्न र भाषिक वा शैक्षिक सीमाभन्दा परका अभिव्यक्तिसँग भावनात्मकरूपले जोडिन आग्रह गरेको छ ।
‘अनसिन अटिजमसँग सम्बन्धित प्रदर्शनी होइन, यो त आफ्नै तरिकाले संसारलाई बुझ्ने र देखाउने कलाकारहरूको प्रदर्शनी हो’, क्युरेटर कैलाश के. श्रेष्ठ भन्छन्, ‘उनीहरूको अभ्यासले कलालाई पहिचानको माध्यम र सम्भावनाको क्षेत्रका रूपमा उजागर गर्छ जहाँ बाहिरी नियमहरूले कुनै बाधा गर्दैनन् ।’ अनसिनकोको अघिल्लो संस्करण सहभागी कलाकारहरूका लागि एक महत्वपूर्ण उपलब्धि बनेको थियो, जहाँ नौवटा कलाकृति बिक्री भएका थिए । यो अटिजम भएका ती कलाकारहरूको पहिलो आम्दानी थियो ।