काठमाडौं । कालिढुङ्गा माध्यमिक विद्यालयका एक सय ४० जना विद्यार्थीलाई विद्यालय पोशाक (ट्रयाकसुट) वितरण गरिएको छ ।
रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका वैतेश्वर गाउँपालिका–३ मिर्गेका युवाहरूले व्यक्तिगत सहयोग रकम संकलन गरेर सोही वडामा रहेको विद्यालयका विद्यार्थीहरूलाई सहयोग गरेका हुन् । विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका उनीहरूले ईसीडीदेखि कक्षा १२ सम्मका एक सय ४० जना विद्यार्थीलाई पोशाक उपलब्ध गराएका थिए । उक्त पोशाक मंगलबार वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले विद्यार्थीलाई वितरण गरेको विद्यालयका प्रध्यानाध्यापक पुष्करकुमार दाहालले जानकारी दिए । अध्यक्ष लामाले आफ्नो मेहनत र पसिनाबाट जोहो गरेको रकमले विद्यालय जस्तो पवित्र ठाउँ र कलिला विद्यार्थीलाई सहयोग उपलब्ध गराएर उदाहरणीय कार्य गरेको बताए । शिक्षाको विकासका लागि चारैतिरबाट सहयोग अपरिहार्य रहेकोे उनको भनाइ थियो । कार्यक्रममा वडा अध्यक्ष कमल अधिकारी, विद्यालयका प्रधानाध्यापक पुष्करकुमार दाहाल, सहायक प्रधानाध्यापक सुरेश तामाङ लगायतले थप सहयोग गर्न आग्रह गरेका थिए । कालिढुङ्गा माध्यमिक विद्यालयमा आउदो बिहिवारदेखि छैटौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता समेत हुँदै छ ।