काठमाडौं, भदौ १७
महानरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि सडकमा ‘डमी ट्राफिक प्रहरी’ राखेको छ । सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गरी सडक दुर्घटना न्यूनीकरण गर्नका लागि महाशाखाले काठमाडौँ उपत्यकाको विभिन्न स्थानका सडकको छेउमा २२ वटा काल्पनिक ट्राफिक प्रहरी (डमी) बनाएर राखेको हो ।
डमीको हातमा ट्राफिक नियम उल्लङ्घन गरेमा पाँच सय रूपैयाँदेखि १० हजार रूपैयाँसम्म जरिवाना हुने जानकारी लेखिएको बोर्ड पनि देख्न सकिन्छ । टाढाबाट हेर्दा ट्राफिक प्रहरीजस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारीसाधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए ।
नजिकै पुगेपछि ट्राफिक सन्देश राखेको बोर्ड देख्ने हुनाले त्यो सन्देश सबैले पढ्ने र सचेतना बढ्ने ढकालले बताए । उनले ट्राफिककै आकृतिमा बोर्ड राखिँदा सवारी चलाउने बेला लापरबाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव चालकमा पर्ने र जनताले पनि ट्राफिक प्रहरीले दिनरात सेवा दिइरहेको अनुभूति गर्ने विश्वास लिएका छन् ।
उक्त ट्राफिक डमीहरू महाशाखाको पहलमा काठमाडौँ महानगरपालिकासँग सहकार्य गरी राखेको महाशाखाले जनाएको छ । ती डमीहरू सिंहदरबार, सिंहदोबाटो, माइतीघर, नयाँ बानेश्वर चोक, बालुवाटार, एकेडेमी मोड, लैनचौर, भोटाहिटी, रणोद्विप, भद्रकाली, थापाथली, कालिमाटी चोक, कलंकी चोक, जडिबुटी चोक, कोटेश्वर चोक, गौशाला, पुरानो बानेश्वर चोक, ल्होत्से चोक, कृष्ण पाउरोटी, पद्मोदय मोड, नागढुङ्गा र जगातीमा राखिएका छन् ।
त्यस्तै, महाशाखाले काठमाडाँै उपत्यकाको विभिन्न सडकखण्डमा कोरोना संक्रमणबाट जोगिने उपायहरू लेखिएका ६० वटा फ्लेक्स बोर्डहरू पनि राखेको छ । उक्त बोर्डमा सकेसम्म सामाजिक दूरी कायम राखौँ, कोरोनाविरूद्धको स्वास्थ्य मापदण्ड सधैँ पालना गरौँ, जोर–बिजोर नियमको पालना गरौँ, सधैँ मास्क लगाएर हिँडौँ, अनावश्यक हिँडडुल नगरौँ, ट्राफिक नियमको पालना गरौँजस्ता सन्देशहरू उक्त बोर्डमा लेखिएका छन् ।