काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) न्यू बुटवल सबस्टेसन र १८ किमि प्रसारण लाइन निर्माण सुरु गरेको छ ।
एमसीए–नेपालले बुधबार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा आयोजित एक समारोह बीच न्यू बुटवल सबस्टेसन र १८ किमि प्रसारण लाइन निर्माण कार्यको शुभारम्भ गरेको हो । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत निर्माण गर्न लागिएका यी नयाँ पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्तीकरण गर्नुका साथै नेपाल र भारतबीच महत्वपूर्ण ऊर्जा व्यापार अन्तरसम्बन्ध स्थापना गर्नेछ । एमसीए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले नेपालको ऊर्जा सुरक्षा सशक्त बनाउने सन्दर्भमा एउटा नयाँ अध्याय थपिएको बताए । यस प्रसारण लाइन तथा सबस्टेसनले ऊर्जा व्यापार विस्तार गर्न तथा नेपालीका लागि दीर्घकालीन लाभ दिलाउनमा नयाँ अवसरहरू सिर्जना गर्ने उनको भनाइ छ । ‘नेपाल सरकार तथा अमेरिकी सरकारको एमसीसीसँगको निकटतम साझेदारीमा यस आयोजनाको कार्यान्वयन गर्न पाएकोमा एमसीए–नेपाल गौरवान्वित छ र यसलाई सफल बनाउनमा प्रतिबद्ध छ’, उनले भने ।
उनका अनुसार यस १८ किमि प्रसारण लाइनले चार सय केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्नेछ । करिब पाँच करोड अमेरिकी डलरको लगानीमा निर्माण गरिने यी ऊर्जा पूर्वाधारले आगामी दशकभित्रमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य लिएको छ । यस १८ किमि प्रसारण लाइन र न्यू बुटवल सबस्टेसनले नेपालमा बढ्दो रूपमा उत्पादन हुन थालेको जलविद्युत्लाई क्षेत्रीय बजारसँग जोड्ने हुनाले यिनीहरू नेपालको आर्थिक भविष्यका लागि महत्वपूर्ण हुने विष्टले बताए । नेपालको उच्च भोल्टेजयुक्त विद्युतीय सञ्जाललाई सशक्त बनाउँदै यस आयोजनाले घरपरिवार एवं व्यवसायहरूका लागि विद्युत् आपूर्ति थप भरपर्दाे बनाउनेछ भने विद्युत् चुहावट घटाउनुका साथै नेपाललाई ऊर्जाको वैदेशिक व्यापार गर्न सक्षम बनाउनेछ । यी सुधारबाट व्यवसाय सञ्चालनको खर्च घट्नेछ । साथै नयाँ निजी लगानी आकर्षित हुने र नेपालका विकास प्राथमिकतामा पुनःलगानी गर्न सकिने थप राजस्व आर्जन गर्न सहयोग पुग्नेछ ।
कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले यस आयोजनाले स्वच्छ ऊर्जामा पहुँचको विस्तार, क्षेत्रीय ऊर्जा व्यापारमा अभिवृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुर्याउने बताए । एमसीसी र एमसीए–नेपालको सहयोगमा राष्ट्रको हितका लागि सम्झौतालाई कार्यरूपमा रूपान्तरण गर्ने उनको भनाइ छ । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले भरपर्दाे ऊर्जा प्रणाली निर्माण गर्ने कार्यमा साझेदारका रूपमा नेपालसँग उभिन पाउँदा संयुक्त राज्य अमेरिकालाई गर्व लागेको बताए । प्रसारण लाइन तथा सबस्टेसन जस्ता आयोजनाहरूले घरपरिवार तथा व्यवसायहरूका बत्ती बाल्नमा मात्र सघाउने नभइ यस क्षेत्रभरी नै व्यापार, वृद्धि तथा प्रगतिका लागि अवसरहरू पनि सिर्जना गर्ने उनको भनाइ छ । कार्यक्रममा एमसीसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को, स्थानिय जनप्रतिनिधि लगायतको उपस्थिति थियो ।