काठमाडौं । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले आफ्नो ब्रान्ड प्रवर्द्धकको रूपमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेललाई यस वर्ष पनि पुनः अनुबन्ध गरेको छ ।
विगत दुई वर्षदेखि ई–सेवाको ब्रान्ड प्रवर्द्धकका रूपमा अनुबन्धित भएका पौडेलसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो । पुल्चोक ललितपुरमा अवस्थित ई–सेवाको प्रधान कार्यलयमा ई–सेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्का र रोहित कुमार पौडेल बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
ब्रान्ड प्रवर्द्धकको यात्रालाई निरन्तरता दिन पाउँदा कप्तान पौडेलले खुसी व्यक्त गर्दै यो साझेदारीलाई एउटा नयाँ आयाम दिनेबारे विश्वस्त रहेको बताए । ई–सेवाका सीईओ खड्काले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्वपूर्ण भूमिका निभाइरहनुभएका कप्तान रोहित कुमार पौडेलजस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्रान्ड प्रवद्र्धकका रूपमा निरन्तरता दिन पाउनु आफैँमा गर्वको विषय भएको बताए । साथै, २०२६ मा हुने टी–२० विश्वकपका लागि छनौट भएकोमा बधाई तथा नेपाल प्रिमियर लिगमा पनि उहाँलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए ।