काठमाडौं । भगवती कम्पोजिट इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी पुँजीको २० प्रतिशतका दरले प्रति सेयर अंकित मूल्य एक सय रुपैयाँ अंकित मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले छ लाख ४४ हजार कित्ता सेयर निष्कासन गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
बुधवार नेपाल लाइफ क्यापिटल कमलपोखरी स्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा भगवती कम्पोजिट इन्डष्ट्रिज लिमिटेडका तर्फबाट अध्यक्ष दक्षिणा गैह्रे न्यौपाने तथा नेपाल लाइफ क्यपिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् ।
भगवती कम्पोजिट इन्डष्ट्रिज लिमिटेडले विगत १५ वर्षदेखि चितवनको भरतपुरमा अत्याधुनिक प्रविधि प्रयोग गर्दै गुणस्तरीय उद्योगजन्य वस्तुहरू उत्पादन गर्दै आइरहेको छ । यसको उद्देश्य उच्च गुणस्तरका, दिगो, सुरक्षित र प्रविधिमैत्री उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउनु रहेको छ ।