काठमाडौं । आईटी तथा साइबर सुरक्षासम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशन तथा ओमान डेटा पार्कबीच क्लाउड ट्रान्सफर्मेसन, कृत्रिम बुद्धिमत्ता (एआई) समाधान, साइबर सुरक्षा सेवा तथा सफ्टवेयर इन्जिनियरिङको क्षेत्रमा संयुक्त रूपमा काम गर्ने सहमति भएको छ ।
मस्कटस्थित ओमान डेटा पार्कको मुख्यालयमा आयोजित एक समारोहमा जेनेस सलुशनका संस्थापक तथा सीइओ अञ्जनी फुयाँल र ओमान डेटा पार्क (ओडीपी)का सीईओ मकबुल अल–वाहैबीले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । जेनेस सलुशनसँग क्लाउड कम्प्युटिङ, एआई, साइबर सुरक्षा र सफ्टवेयर विकासका क्षेत्रमा सहकार्य सुदृढ गर्न औपचारिक रूपमा समझदारीपत्रमा हस्ताक्षर गरेको ओमान डेटा पार्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘यो साझेदारीले जेनेसको विश्वव्यापी विशेषज्ञता र हाम्रो स्थानीयरूपमा होस्ट गरिएको सुरक्षित पूर्वाधारलाई एकीकृत गर्दै ओमान तथा क्षेत्रीय स्तरका ग्राहकहरूलाई अझ बढी मूल्य प्रदान गर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘साथै, हामीले मिलेर क्लाउड सेन्टर अफ एक्सिलेन्सलाई प्रवर्द्धन गर्नेछौँ, संयुक्तरूपमा एआई समाधान विकास गर्नेछौँ र स्थानीय तथा क्षेत्रीय बजारमा नयाँ सम्भावनाहरू खोल्नेछौँ ।’
जेनेस सलुशनका सीईओ फुयाँलका अनुसार यस साझेदारीमार्फत जेनेस सलुशनले क्लाउड रुपान्तरण, एआई, साइबर सुरक्षा तथा सफ्टवेयर इन्जिनियरिङका क्षेत्रमा आफ्नो विश्वव्यापी अनुभव प्रयोग गरी ओमान डेटा पार्कको दक्षता अझ मजबुत बनाउनेछ । ‘हामी ओमान डेटा पार्कको क्लाउड सेन्टर अफ एक्सिलेन्सलाई उन्नत गर्ने, नयाँ समाधानहरू विकास गर्ने र ओमानलगायत अन्य मुलुकका ग्राहकहरूलाई अझ उन्नत, विस्तार गर्न मिल्ने सेवा प्रदान गर्न मद्दत गर्नेछौँ,’ उनले भने । नेपालको सन्दर्भमा यो साझेदारीले जेनेसको विश्वव्यापी उपस्थिति झनै सुदृढ हुनुका साथै सीमापार सहकार्यका नयाँ ढोका खोल्नेछ । ‘यसले नेपालका टेक प्रतिभाहरूलाई उच्च मूल्यका अन्तर्राष्ट्रिय परियोजनामा काम गर्ने अवसर मिलाउनेछ, क्लाउड र एआइ सेवामा नेपाली क्षमता बलियो बनाउनेछ र नेपाललाई विश्व मञ्चमा डिजिटल विशेषज्ञताको उदाउँदो केन्द्रका रूपमा प्रस्तुत गर्नेछ,’ फुयाँलले भने ।