काठमाडौं । अन्ततः नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा भएको नोट चलनचल्तीमा ल्याएको छ । नोटकको छपाइ तथा वितरणलगायतका विषयमा निकै लामो रस्साकस्सीको बीचमा राष्ट्र बैंकले यही मंसिर ११ गते बिहीबारबाट पूर्वगभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको चुच्चे नक्सा भएको एक सय रुपैयाँको नोट चलनचल्तीमा ल्याएको हो । राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै उक्त नोट प्रचलनमा ल्याएको जानकारी दिएको हो ।
राष्ट्र बैंकका अनुसार १०० दरको साबिककै आकार तथा रङमा सङ्केत नं. क/२० ०००००१ देखि घ/४० ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइनेछ ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नोट प्रचलनमा ल्याएको हो । नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटको मध्यभागमा नेपालको नक्सा रहेको, नोटको मध्यभागमा अशोक स्तम्भको चित्रका साथै ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको विशेषतासहितको नोट चलनचल्तीमा ल्याएको हो ।
यसको साथै अशोक स्तम्भसँगै दृष्टिविहीनहरूलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको र बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र रहेको, २ मिमि चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो रहेको, नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको र नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको विशेषता रहेको छ ।
यसैगरी नोटको पृष्ठभागमा नोटको मध्यभागको माथिल्लो खण्डमा अंग्र्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको, नोटको मध्यभागमा एकसिङ्गे गैंडाको माउ र बच्चाको चित्र रहेको, नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपिज वान हन्ड्रेड लेखिएको र नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा ‘२०२४ एडी’ लेखिएको विशेषता रहेको छ ।