काठमाठौं । जेन–जी आन्दोलनमा भएको क्षतिमा बीमा कम्पनीहरूले हालसम्म चार अर्ब रुपैयाँ मात्रै भुक्तानी गरेका छन् । आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा कुल तीन हजार दुई सय ५५ वटा बीमा दाबीको करिब २३ अर्ब ४३ करोड ४१ लाख दााबी रकम परेको थियो ।
त्यसमध्ये हालसम्म अग्रीम भुक्तानी समेत गरी करिब चार अर्ब दुई करोड दाबी रकम बीमितहरूलाई भुक्तानी भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्यांकअनुसार बीमा कम्पनीहरूबाट अग्रीम भुक्तानी समेत गरी सो परिमाणमा भुक्तानी भएको हो ।
भुक्तानी भएको कुल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ छ सय ९५ वटा दाबीको दाबी रकम करिब १९ अर्ब तीन करोड ४१ लाखमध्ये करिब तीन अर्ब नौ करोड ४७ लाख र मोटर बीमातर्फ दुई हजार दुई सय ९५ वटा दाबीको दाबी रकम करिब तीन अर्ब ४४ करोड १० लाखमध्ये करिब ८४ करोड ८५ लाख रुपैयाँ भुक्तानी भएको छ ।
यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ दुई सय नौवटा दाबीको करिब ५५ करोड चार लाख दाबी रकममध्ये करिब छ करोड ६९ लाख रुपैयाँ भुक्तानी भएको छ । परिवहन बीमातर्फ १२ वटा दाबीको करिब एक करोड ६९ लाख दाबी रकममध्ये करिब ४८ लाख र अन्य बीमातर्फ ४४ वटा दाबीको करिब ३९ करोड १८ लाख दाबी रकममध्ये करिब ३९ लाख अग्रीम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका अनुसार पुनर्बीमा कम्पनीबाट बीमकहरूलाई करिब दुई अर्ब ५१ करोड ७९ लाख अग्रीमसहित दाबी भुक्तानी भएको छ । जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब दुई अर्ब ५१ करोड ७९ लाख अग्रीम भुक्तानीसहित दाबी गरेको हो, प्राधिकरणले भनेको छ ।
नेपाल पुनर्बीमा कम्पनीमा परेको कुल दुई हजार आठ सय ६० वटा पुनर्बीमा दाबीको दाबी रकम करिब १५ अर्ब ८१ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।
बाढीपहिरोको क्षतिमा हालसम्म एक करोड १४ लाख भुक्तानी
बीमा कम्पनीहरूले अविरल वर्षामा भएको क्षतिमा हालसम्म एक करोड १४ लाख भुक्तानी दिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार २०८२ साल असोज १८ गतेयताको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा परेका सात सय ४४ वटा प्रारम्भिक बीमा दाबीको कुल करिब तीन अर्ब ७७ करोड ४२ लाख दाबी रकममध्ये हालसम्ममा करिब एक करोड १४ लाख बीमितहरूलाई भुक्तानी भएको हो ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र दुईवटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक जानकारीअनुसार, निर्जीवन बीमा कम्पनीहरूबाट सम्पत्ति बीमातर्फ चार सय पाँचवटा दाबीको दाबी रकम करिब तीन अर्ब २१ करोड ५० लाखम्रध्ये करिब ६४ लाख, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ एक सय चारवटा दाबीको करिब ४७ करोड ६६ लाखमध्ये करिब एक लाख ५४ हजार, कृषि तथा बाली बीमातर्फ दुई सय १० वटा दाबीको करिब चार करोड १४ लाखमध्ये करिब एक लाख र मोटर बीमा (निजी)तर्फ ४० वटा दाबीको करिब दुई करोड ८२ लाखमध्ये करिब ४८ लाख रुपैयाँ बीमितलाई भुक्तानी भएको छ ।
मोटर बीमा (सार्वजनिक)तर्फ १० वटा दाबीको करिब एक करोड आठ लाख, अन्य बीमातर्फको दुईवटा दाबीको करिब १२ र सामुद्रिक बीमातर्फ तीनवटा दाबीको करिब १० को बीमा दाबी भुक्तानी सुरु भएको प्राधिकरणको भनाइ छ ।