काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदानको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्नेमा जोड दिएका छन् ।
सिंहदरबारमा बिहीबार आयोजित सामाजिक सुरक्षा कोषको ८औँ वार्षिकोत्सव समारोहमा उनले कोषको रकमलाई सुरक्षित, दिगो र प्रतिफलमुखी उपयोगमा लैजानुपर्नेमा जोड दिएका हुन् । नेपालमा संस्थागत रूपमा रहेका यस्ता रकम बैंकको मुद्धतिमा राख्ने गरेको उनले बताए । हालसम्म सामाजिक सुरक्षा कोषमा ९५ अर्ब ६८ करोड रुपैयाँ योगदान संकलन भएको तथ्याड्ढ छ । यो रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सके यसबाट देश विकासमा योगदान पुग्ने उनको भनाइ छ । उनले नेपालमा श्रम ऐन २०८४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को कार्यान्वयनसँगै सामाजिक सुरक्षा प्रणाली संस्थागत रूपमा अगाडि बढेको उल्लेख गर्दै कोष मार्फत औपचारिक श्रम बजार विस्तार, सुरक्षित र मर्यादित कार्यस्थल निर्माण तथा त्रिपक्षीय सहकार्य सुदृढ हुँदै गएको बताए ।
साथै, उनले सामाजिक सुरक्षा कोषलाई आगामी वर्षहरूमा डिजिटल सेवा विस्तार, लघु, साना तथा मध्यम उद्योग माथि पर्ने कार्यान्वयनको बोझ कम गर्दै सामाजिक सुरक्षा कोषमा समेट्न तथा अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई प्रणालीमा जोड्ने पहल गर्न सुझाव दिए । अध्यक्ष ढकालले उद्योग–व्यवसायमैत्री सुविधा, तथा अन्तर्राष्ट्रिय श्रम मापदण्डअनुसार प्रणाली आधुनिकीकरणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए । यसैगरी उनले योगदान दर, दर्ता प्रक्रिया तथा दायित्वबारे अझै अस्पष्टता रहेकोले प्रभावकारी प्रचार–प्रसार आवश्यक रहेको, योगदानबापत श्रमिकले प्रत्यक्ष लाभ पाएको अनुभूति बढाउनुपर्ने तथा कोषको लगानी संरचना पारदर्शी, सुरक्षित र जोखिम व्यवस्थापनयुक्त हुनुपर्नेमा जोड दिए ।