काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनका क्रममा भागेका नौ हजार छ सय ९७ कैदीबन्दी फिर्ता ल्याएको जानकारी दिएका छन् ।
राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले कारागार तथा बन्दी गृहबाट फरार भएका १४ हजार पाँच सय ५४ कैदीबन्दीमध्ये नौ हजार छ सय ९७ लाई फिर्ता ल्याइसकिएको जानकारी दिए । बाँकी चार हजार आठ सय ५७ कैदीबन्दी फिर्ता ल्याउन विशेष ‘अपरेसन’ सञ्चालन गरिएको उनको भनाइ थियो । त्यसैगरि भाद्र २३ र २४ गतेको घटनासँग सम्बन्धित अपराधमा संलग्नमध्ये कुल पाँच सय ९५ जनालाई पक्राउ गरिएको तथा दुई सय ८३ जनालाई विभिन्न कसुरमा मुद्दा दर्ता गरिएको जानकारी दिए । अहिलेसम्म सात सय २३ थान हतियार फिर्ता ल्याइएको उनको दाबी छ । उनले आगामी प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन सरकारले तीव्र गतिमा काम गरिरहेको बताए । उनले लुटिएका हतियार र फरार कैदीबन्दीको व्यवस्थापन प्रभावकारी रूपमा भइरहेको जानकारी दिए ।
मन्त्री अर्यालले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । ‘होस्टालिटीको अवस्था निरन्तर नहोस् । देशको विद्यमान कानुन जे छ त्यो शासन मुताबिक यथावत् रूपमा चल्नुपर्छ,’ उनले भने, ‘द्वन्द दोहोरिने कुरा धेरै हदसम्म हामीले अहिले काबु भित्र राखेका छौँ ।’ त्यसका लागि राजनीतिक दल र जेन–जी समूह बीच संवाद चलिरहेको उनले जानकारी दिए । साथै प्रहरीको मनोबल बढाउने र क्षतिग्रस्त कार्यालयको पुनःनिर्माणमा नागरिक सहयोग प्राप्त भएको उनको भनाइ छ । उनले जनताले सुरक्षित वातावरणमा मतदान गर्न पाउने विश्वास व्यक्त गरे ।
मन्त्री अर्यालले विभिन्न समूहले विविध माग राखी प्रदर्शन, धर्ना, जुलुस र विरोधलगायतका कार्यक्रम गरिरहेको गतिविधिको सूक्ष्म निगरानी र समन्वयात्मक रूपमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको बताए । यस्तै, उनले सुरक्षा निकायबाट परिचालन हुने कर्मचारीलाई आवश्यक बन्दोबस्तका सामान खरिद व्यवस्थापन भइरहेको जानकारी दिए । जेन–जी आन्दोलनपश्चात् विकसित घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उछृङ्खल गतिविधि भएमा वा समस्या परेमा सोको सहजीकरण गर्न सहायता कक्ष स्थापना गरिएको उनको भनाइ छ । हेल्प डेस्क नम्बर ९८५१३६०६०३ मा फोन गर्न सकिने उनले जानकारी दिए ।
मन्त्री अर्यालले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तथा देशको समग्र शान्ति सुरक्षालाई ध्यानमा राखी हालसम्म चार पटक केन्द्रीय सुरक्षा समितिको बैठक बसी निर्वाचन सुरक्षा रणनीति निर्माणलगायतका जम्मा २० वटा निर्णय गरिएको बताए । उनका आगामी निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरी भर्ना गर्ने योजना अघि बढाइएको छ । आगामी निर्वाचनको समयमा सेना परिचालनको लागि रक्षा मन्त्रालयमा लेखी पठाइ राष्ट्रिय सुरक्षा परिषद्बाट निर्णयसमेत भइसकेको उनले जानकारी दिए । निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा निकायको सुदृढीकरणका लागि नेपाल प्रहरीतर्फ नियमित बजेटबाट एक सय ५६ वटा र थप बजेटबाट एक सय छ वटा गरी कुल दुई सय ६२ थान सवारी, सशस्त्र प्रहरीतर्फ नियमित बजेटबाट ५९ वटा र थप बजेटबाट ५० वटा गरी कुल एक सय नौ सवारी र राष्ट्रिय अनुसन्धान विभागतर्फ थप छ वटा सवारी खरिदका लागि स्रोत सुनिश्चित गरी खरिद प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।