काठमाडौं । सुनसरी जिल्लाको इनरुवा नगरपालिका–७ स्थित चाँदवेलाबाट मंसिर ११ गते बिहान सशस्त्र प्रहरीले एक सय ५३ केजी गाँजासहित सोही ठाउँ बस्ने २० वर्षीय आदित्य चौधरीलाई नियन्त्रणमा लिएको छ । चाँदवेलाबाट दक्षिर्णतर्फ जाँदै गरेकोे बा १५ च २१७३ नम्बरको स्कारपियो पिकअप गाडी र को २७ प ८३३१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा प्लास्टिकको प्याकेटमा बेरेर राखिएको उल्लिखित गाँजा फेला परेको होे । सो गाँजा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट साहेवगंजबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।
उक्त गाडी र मोटरसाइकललाई अन्य मोटरसाइकलमा आउँदै गरेका व्यक्तिले स्कटिङ्ग गरी ल्याउँदै गरेको अवस्थामा सो गाँजा नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर समेत गरेको थियो । नियन्त्रणमा लिइएका व्यक्ति स्कारपियो गाडीका चालक रहेका छन् भने मोटरसाइकल चालक फरार भएका थिए । नियन्त्रणमा लिइएका चौधरीलाई बरामद गाँजा तथा गाडी र मोटरसाइकल चालकसहित आवश्यका कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।