काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घाट निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा कमला नगरपालिका, धनुषाका तत्कालीन नगरप्रमुख राम उदगार गोइतसहित १० जना विरुद्ध मद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार लग्मा बजार नजिकको पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको अभियोगमा उनीहरूमाथि बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । आव २०७६÷७७ मा कमला नगरपालिका–३, लग्मा बजार नजिकको पोखरीको डिलमा माटो पुर्ने, घाट निर्माण र सौन्दर्यकरण गरिने उद्देश्यले ७५ लाख रुपैयाँ लागत अनुमान भएको आयोजनाको बोलपत्र आह्वान गरिएको थियो । खरिद मूल्याड्ढन समितिले सबैभन्दा कम कबोल ४२ लाख ७४ हजार पाँच सय ५१ रुपैयाँ ७१ पैसा पेश गर्ने सेट स्क्वायर कन्स्ट्रक्सन प्रालिलाई सारभूत रूपमा प्रभावग्राही मानेर सिफारिस गरिसकेको आयोगको भनाइ छ । तर, सिफारिसअनुसार प्रक्रिया अघि नबढाइ नगर प्रमुख, कार्यपालिका सदस्य, प्रशासकीय अधिकारी तथा लेखा÷जिन्सी शाखाका कर्मचारीहरूले मिलेमतोमा न्यूनतम कबोल गर्ने सेट स्क्वायर कन्स्ट्रक्सनलाई सम्झौता नगरी दोस्रो घटी ७२ लाख २१ हजार सात सय ३० रुपैयाँ सात पैसा कबोल गर्ने ‘इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालि’ लाई गैरकानुनी रूपमा ठेक्का दिएको आयोगले जनाएको छ ।
आयोगको अनुसन्धानमा नगरपालिकाका पदाधिकारीहरूले सेट स्क्वायर कन्सट्रक्सनले पेस गरेका कागजात तथा बैंक जमानत बदनियतपूर्वक लुकाएर सम्झौता गर्न नदिने निर्णय गराएको र उल्टै उक्त फर्मको विड बोन्ड जफत गरी दोस्रो प्रस्ताव दातासँग सम्झौता प्रक्रियामा अघि बढाएको पाइएको छ । विसं २०७७ जेठ २१ गते इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिसँग ७२ लाख १८ हजार छ सय ८० रुपैयाँको दरले सम्झौता गरी भुक्तानीसमेत दिइएको र यसरी गरिएको ठेक्का हेरफेरबाट २९ लाख ४४ हजार एक सय ३७ रुपैयाँ २९ पैसा बराबरको सरकारी धन हिनामिना भएको आयोगले निष्कर्ष निकालेको छ । आयोगले गोइतसहित कार्यपालिका सदस्य धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम, समसुल मिया मोमिन, निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल सञ्जिवकुमार महतो, जिन्सी शाखा प्रमुख जुगलकिशोर यादव तथा ठेक्का पाउने कम्पनीका अध्यक्ष सन्तोषकुमार यादवसमेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायको मागसहित प्रतिवादी बनाइएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए ।