कैलाली । धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीका बाधुराम चौधरीले लामो समयदेखि व्यावसायिक रूपमा बेतबाँसका सामग्री बेचेर मासिक ७० हजार आम्दानी गर्दै आएका छन् । चौधरीले आफ्नो हस्तकला सीप उद्योगबाट घरायसी प्रयोगमा आउने थरिथरिका सामग्री बनाएर बिक्री गर्दै आएका हुन् ।
उद्योग सञ्चालनमा आफ्नो हस्तकला सीप प्रयोग गरी बेतका विभिन्न सामग्री निर्माण गर्न उनलाई परिवारका सबै सदस्यले साथ दिएका छन् । बेतबाँसका विभिन्न सामग्री बिक्री गरेर बालबच्चाको लालनपालन, शिक्षादिक्षा र घरपरिवारको सम्पूर्ण खर्च धान्दै आएको चौधरीले बताए ।
परिवारको सम्पूर्ण खर्चको मुख्यस्रोत यही उद्योग भएको र घरखर्च चलाउनका लागि अन्य कुनै पनि बाटो नभएको उनले बताए । उनले भने, “श्रीमान् श्रीमती र छोराछोरी गरी घरमा पाँच जनाको जहान छ । छोराछोरीलाई बिहान स्कुल पढ्न पठाएर बुढाबुढी यही काममा खटिन्छौं ।” परिवारको पूरै खर्च उनले यही व्यवसायले धान्दै आएको र केही बचत पनि हुने गरेको जानकारी गराए ।
सुरुमा आर्थिकस्थित एकदमै कमजोर भएको हुँदा व्यवसाय सुुरु गर्दा घरखर्च र जीविकोपार्जनमा समस्या हुँदै आएकामा अहिले सोही व्यवसायबाट परिवारको सम्पूर्ण खर्चसँगै केही बचतसमेत हुन थालेको चौधरीले बताए ।
बेतबाट निर्मित सामग्रीले सुरुका दिनमा बजार पाउन कठिन भए पनि अहिले यसको माग बढ्दै गएको छ । अहिले ग्राहकको माग अनुसार सामग्री पुर्याउनै नसकेको उनले बताए । व्यवसायी चौधरीले बेतबाट हेङुगर, फूलदानी, पिर्का, झुला, चुरा राख्ने हेङ्गरलगायत विभिन्न सामग्री बनाएर बिक्री गर्दै आएका छन् ।
हेङुगर एक हजार ६००, फूलदानी ४५०, कुर्ची तीन हजार, बस्ने पिर्का ३५० देखी ४००, झूला दुई हजार ५०० मा बिक्री गर्दै आएको उनले जानकारी दिए । मासिक रूपमा ७० हजार बराबरको कारोबार हुने जनाउँदै चौधरीले करिब ४० प्रतिशतसम्म फाइदा हुने बताए । विदेश नगएर थोरै भए पनि आफ्नै गाउँठाउँमा काम गरेर आर्थिकोपार्जन गर्नुपर्दछ भन्ने सोचले सो व्यवसायमा आवद्ध भएको उनको भनाइ छ ।