काठमाडौँ, । नेपाल र युरोपेली संघबीचको संयुक्त आयोगको १६औँ बैठक बेल्जियमको ब्रसेल्समा शुक्रबार सम्पन्न भएको छ । बैठकमा विकास सहयोग, व्यापार, जलवायु परिवर्तन, क्षेत्रीय सम्पर्क सञ्जाल तथा बहुपक्षीय सहकार्यलगायतका विषयमा विस्तृत छलफल भएको नेपाली दूतावास ब्रसेल्सले जनाएको छ ।
बैठकमा दुवै पक्षले नेपाल–यूरोपेली संघबीचको सम्बन्ध सकारात्मक रूपमा अगाडि बढेको तथा विकास साझेदारीदेखि जनस्तरसम्मको सम्बन्धका विभिन्न आयामका बारेमा उल्लेख गरेका थिए । बैठकमा संघका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आर्थिक अनुशासन, सुशासन, जवाफदेहिता तथा सेवा विस्तारमा केन्द्रित रहेर गरिरहेको कामको प्रशंसा गरेको थियो ।
नेपालले दिगो विकास लक्ष्य प्राप्तिमा भइरहेको प्रगति प्रस्तुत गर्दै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण र लगानी प्रवद्र्धनमा यूरोपेली संघ तथा नेपालबीचको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गरेको थियो । नेपालले सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई कानुनअनुसार शिघ्र निष्कर्षमा पुर्याउने प्रतिबद्धता दोर्होयाएको थियो ।
यूरोपेली संघले नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्न तयार पारिएको संक्रमणकालीन रणनीतिलाई स्वागत गर्दै यसअघि नै लागू भएको वहुवर्षीय कार्यक्रममार्फत सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको छ । दुवै पक्षले विभिन्न क्षेत्रका विकास परियोजनामा भइरहेको प्रगतिमाथि पनि समीक्षा गरेको विज्ञप्तिमा उल्लेख छ ।
हवाई सुरक्षा सुधारलाई नेपालले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै युरोपेली संघको सन २०२३ को सेप्टेम्बरमा भएको मूल्यांकन भ्रमणमा उठेका विषय समाधान गर्ने प्रतिबद्धता दोहोर्याएको छ । नेपालले युरोपियन युनियन एयर सेफ्टी सूचीबाट नेपाली एयरलाइन्सलाई हटाइदिन पुनः अनुरोध गरेको छ ।
आयोगको १७औँ बैठक आगामी वर्ष काठमाडौँमा पारस्परिक सहमतिमा तय हुने मितिमा आयोजना गरिनेछ । बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राई र यूरोपेली संघका तर्फबाट एसिया प्रशान्त विभागका कार्यवाहक प्रबन्ध निर्देशक पाओला पाम्पालोनीले सहअध्यता गरेका थिए ।